-सिके लाल

अत्यधिक जाडोले गर्दा पुसमा शीतनिद्राको आकांक्षा बढ्छ। शिथिलता महसुस हुन थाल्छ। कार्यक्षमतामा ह्रास आउँछ। मानसिक सामर्थ्य घट्छ। शक्ति क्षीण हुन्छ। त्यसैले हिन्दू समाजमा पुसलाई शुभ महिना मानिँदैन। परम्परागत हिन्दू धर्मावलम्बी परिवारहरूमा बिहेवारी चल्दैन। विशेष पूजापाठ गरिँदैन। जीवन सामान्य रहे पनि माघे संक्रान्ति एवं त्यसपछि आउने वसन्तपञ्चमीको व्यग्र प्रतीक्षामा पुस फासफुस भएर बित्छ। राजनीतिक वृत्तमा भने पुसलाई मसान जगाउने महिनाको रूपमा अर्थ्याए हुने रहेछ। कुरा तार्किक पनि हो। शुभ सुस्त भएपछि स्वभावतः अनिष्टकारी शक्तिहरू सल्बलाउन थाल्ने रहेछन्।

महिनाको सुरूवात पुस एकका दिन स्वघोषित राष्ट्रवादीहरूले राजा महेन्द्रको भूत निम्त्याएर गर्ने गर्छन्। उनी साँच्चिकै राम्रा राजा भएका भए यमराजले उनलाई मृत्युपश्चात् तत्कालै सिँढी चढाएर स्वर्गमा लगिसकेको हुनुपर्छ। भड्किएका आत्मामात्र आह्वान गर्नासाथ मसानबाट जाग्न सक्छन्। त्यस अर्थमा राजा महेन्द्रको प्रेत जगाउन खोज्ने औघडहरू यथार्थमा उनका शत्रु हुन्। तिनका आकलनमा जनविरोधी राजाले बैकुण्ठबास पाएका रहेनछन्। जनक्रान्तिले राणाशाही अन्त्य गरेर २००७ सालमा शाहशासनको पुनर्स्थापना गरिदिएको थियो। त्यसैले राजा त्रिभुवनले जनतालाई ुजनार्दनु भनेर सम्बोधन गरेका थिए। उनका जेठो छोरोमा त्यस्तो कृतज्ञता भावको सर्वथा अभाव देखियो। गहिरो हीनभाव एवं अत्यधिक राजदम्भले उनलाई मनपरी गर्ने दुर्भाग्यपूर्ण अवस्थामा पुर्‍्यायो।

पृथ्वीनारायण लाई बिर्सिनु अब आवश्यकतामात्र नभएर बाध्यता भइसकेको छ। त्यसैगरी नेपालको राज्यसंयन्त्रमा व्याप्त रहेको एकल जातीय नियन्त्रण एवं त्यसले गर्दा चुलिएको भ्रष्टाचारका लागि राजा वीरेन्द्रलाई इतिहासले दोषमुक्त ठहर्‍याउन सक्ने छैन।

महेन्द्रले जनप्रतिनिधीहरूलाई जेलमा जाक्दिए। देश तिन दशकसम्म यथास्थितिको बन्दी भयो। नेपाल एउटा स्वतन्त्र शासकीय इकाईबाट स्वाधीन ‘राज्य–राष्ट्र’ बन्न सकेन। तर, जे भयो त्यो अब अतीत हो। महेन्द्रलाई सरापेर वा उनको गुणगान गरेर देशको ऊर्जामात्र खेर जान्छ। उसै पनि पुस एक गते राजा महेन्द्रको जन्म, विवाह, राज्यारोहण, राज्याभिषेक वा देहावसानमध्ये कुनै पनि उल्लेख्य घटना होइन। त्यस दिन उनले सैनिक ुकू दे ताु गरेर प्रजातन्त्रको हत्या गरेका थिए। हत्या दिवस मनाउनु राजनीतिक, सामाजिक, सांस्कृतिक वा आर्थिक कुनै पनि दृष्टिकोणले उचित हुन्न। सैनिक शासनले अन्ततः शासक र शासित दुवैको अहित हुने रहेछ भन्ने पाठ सम्भ्किएर पुस एकलाई सक्दो छिटो बिर्सिनुमै सबैको कल्याण छ।

महेन्द्रको पालो सकिएपछि अर्को एकथरि कापालिकहरू पुस १४ गतेका नाउँमा राजा वीरेन्द्रलाई पिशाच साबित गर्न कम्मर कसेर लाग्ने गर्छन्। यथार्थ हो, उनी राजा थिए। त्यसैले उनी प्रजातान्त्रिक थिएनन्। प्रजाद्वारा बाध्य नबनाइएसम्म कुनै पनि राजा प्रजातान्त्रिक हुन सक्दैन। राजतन्त्र एवं प्रजातन्त्र विपरीतार्थक अवधारणाहरू हुन्। वीरेन्द्रका चारण एवं भाटहरूको प्रशस्ती गायन भने झनै नसुहाउने प्रकृतिको हुन्छ। जनमतसंग्रह उनले आन्तरिक एवं भूराजनीतिक दबाबले गर्दा बाध्यतावश स्वीकार गरेका थिए। २०४६ सालको राजनीतिक परिवर्तन उनले चाहेर भन्दा पनि जनदबाब एवं भारतीय प्रभावले गर्दा सम्भव भएको हो।

वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्ताव नेपालको कूटनीतिक वजनभन्दा धेरै गह्रौँ भएकाले नराम्रोसँग असफल भयो। उनले ‘विकासको लागि राजनीति’ भन्दै देशलाई वर्षौंसम्म अल्मल्याउन खोजे, तर सकेनन्। नेपाल अफगानिस्तानपछि एसियाको दोस्रो सबभन्दा गरिब मुलुक रहिरनुमा केही न केही ‘योगदान’ राजा वीरेन्द्रको पनि छ। आफ्ना पूर्ववर्तीभन्दा सरल एवं उत्तराधिकारीभन्दा राम्रो भएकाले उनको सम्झना प्रिय लाग्ने रहेछ। उनको दारूण अन्त्यले पनि उनीप्रति दयाभाव उत्पन्न गराउँछ। तर, भावी पुस्ताले पुस १४ सम्झिराख्नुपर्ने पर्याप्त कारण जति खोजे पनि फेला पार्न गाह्रो छ। वीरेन्द्रको आत्माले शान्ति पाओस् भन्नुभन्दा बढी उनको प्रशंसामा भन्न सकिने कुरा केही पनि छैन।

सबभन्दा विवादित सम्झना भने गोर्खाली योद्धा पृथ्वीनारायणको छ, जो नेपाल उपत्यकाका मल्ल राजाहरूलाई पराजित तुल्याएर विस्तारित राज्यका बादशाह भएका थिए। त्यसपछि उनले आफ्नो राजधानी गोरखाको विकट थुम्कोबाट मल्ल राजाहरूबाट लुटिएको दरवारमा स्थानान्तरण गरे। त्यतिसम्म ठीकै हो। प्रायशः युद्ध विजेताहरूले हारेका जातिप्रजातीहरूसँग जेजस्तो व्यवहार गर्ने गर्छन्, त्यस्तै व्यवहार गोर्खाली राजाले काठमाडौँ खाडलका बासिन्दाहरूमाथि गरे। समस्या उनको सम्झनाको निरन्तर महिमामण्डनबाट सुरू हुन्छ। हरेक पुस २७ गते केही साम्प्रदायिक तान्त्रिकहरू राजा पृथ्वीको राजनीतिक अस्तु देखाएर हराइएका जाति एवं जनजातिलाई होच्याउने कर्मकाण्ड आयोजना गर्ने गर्छन्। जन्म र मृत्यु एकै दिन भएको भनिने पुस २७ गतेको आधिकारिकताकाबारे प्रश्न उठाउन जरूरी छैन। तर, एकथरीले हार स्वीकार नगरेसम्म अर्को पक्षको जित हुँदैन। र, विजित तथा विजेताबीचको संघर्ष सम्झाउने पात्रको स्मृतिलाई ‘राष्ट्रिय एकता दिवस’ ठहर्‍याउनु खाटा बस्न थालेको घाउलाई कोट्याएर नूनचुक दल्नेसरहको परपिडक कृत्य हो।

गोर्खाली राजा पृथ्वी महाचतुर योजनाकार, कुटिल रणनीतिकार, महात्वकांक्षी नरेश, सक्षम सेनापति एवं महान योद्धा थिए भन्ने इतिहासकारहरूको निर्क्यौल आधारहीन होइन। आफ्ना यिनै गुणहरूले गर्दा उनी निर्धन तथा कमजोर गोरखा राज्यलाई विस्तारित गर्दै नेपाल उपत्यका समेतलाई हराएर ठूलो भूखण्डका अधिपति बन्न सफल भएका थिए। उनको राजनीतिक उपलब्धि निःसन्देह एउटा उल्लेख्य ऐतिहासिक परिघटना हो। इतिहासमा राजा पृथ्वीजस्तो पात्र नभइदिएको भए दक्षिण एसियाको राजनीतिक मानचित्र पक्कै पनि केही फरक हुन्थ्यो। असल वा खराब के हुन्थ्यो, त्यो बिल्कुल अनुमानको कुरा हो। त्यतिको भरमा राजा पृथ्वीलाई ‘राष्ट्र निर्माता’ घोषणा गर्नु गलत मनशायले अभिप्रेरित देखिन्छ। त्यस उपक्रमभित्र हारेकाहरूलाई तिनको पराजय देखाएर विजेता गोर्खाली जातिको प्रभुत्वलाई निरन्तरता दिने उद्देश्य अन्तर्निहित रहेको कुरा ठम्याउन गाह्रो छैन। त्यसैले पुस २७ सुस्तरी ‘राष्ट्र विभाजन दिवस’ बन्दै गइरहेको छ।

संशोधित विगत

इतिहास फगत जानकारीको स्रोत एवं पाठ सिक्ने विषयमात्र नभएर सत्ता तथा शक्तिको प्रयोग गर्ने माध्यम पनि हो। त्यसैले विजेताहरूले आफ्नो इतिहास आफै लेख्न लगाउँछन्। त्यसपछि पनि आवश्यकताअनुसार वर्चस्वशाली समुदाय एवं महŒवाकांक्षी शासकहरूले पटकपटक त्यही इतिहासलाई आआफ्नो सुविधामुताविक अर्थ्याउँछन् र जरूरी देखिए संशोधनसमेत गर्न लगाउँछन्। इतिहासबारे सत्ताको चरित्रलाई उजागर गर्ने अंग्रेजी लेखक जर्ज अरवेलको एउटा सटिक उक्ति अद्यापि सान्दर्भिक छ–’जसले विगतलाई नियन्त्रित गर्छ, उसैले भविष्य पनि नियन्त्रित गर्छ। र, जसले वर्तमानलाई नियन्त्रणमा राखेको छ, उसैको नियन्त्रणमा अतीत पनि छ।’ निष्पक्ष वा वस्तुपरक वृत्तान्त ठम्याउन जनश्रुति, सामूहिक स्मृति एवं आख्यानहरू पनि खगाल्नुपर्ने हुन्छ। यथार्थ के हो भने, स्वघोषित ‘संशोधन मण्डल’ द्वारा वर्चस्वशाली ‘खसआर्य’ समुदायका हित सम्बर्द्धन गर्ने किसिमले अर्थ्याइएको नेपालको विगत विवादरहित छैन। ‘मलाई गलत लाग्छ, मेरो देशको इतिहास’ भन्दै भूपी शेरचन बिलौना गर्छन्। आघिकारिक इतिहास छ नै गलत, अनि किन कविवरलाई त्यसो नलागोस् त !

नेपालको इतिहास अर्थ्याउने कर्ममा शाह–राणा परिवारसँग निकटता भएकाहरूको एकाधिकार रहँदै आएकाले तिनले भक्तपुरसँग गरिएको मित्रघातलाई महत्व दिँदैनन्। काठमाडौँलाई लडेर नभएर इन्द्रजात्राको मौका पारेर धोका दिएर हत्याइएको कुरा उजागर हुन दिँदैनन्। जनस्मृतिमा अद्यापि जीवन्त रहेको कीर्तिपुरका योद्धाहरूसँग गरिएको क्रूरतालाई अस्वीकार गर्छन्। मकवानपुरका सेनहरूको वंश विनाशका वृत्तान्तलाई बिर्साउन चाहन्छन्। पृथ्वी प्रचण्ड, प्रतापी तर प्रभुताका भोका योद्धा थिए, त्यसैले चाहेको वा जानेको व्यवहार आफूद्वारा हराइएकाहरूसँग गरे। अब त्यसमा लिपपोत गरेर विजेतालाई ‘राष्ट्र–निर्माता’ बनाएर ठड्याउनु भनेको मिथ्या इतिहासको निरन्तर ब्याज असुलिरहने काम हो। पराजित समुदायहरूले सधैँभर आफ्ना पुर्खाको हारको मूल्य तिरी नै रहनुपर्छ भन्ने अपेक्षालाई अरू जुनै विशेषण दिए पनि मानवोचित व्यवहार मान्न सकिँदैन। गलत वा सही जे भए पनि इतिहास त आखिर इतिहास नै हो, न त्यसलाई मेटाउन सकिन्छ, न त त्यसबाट भाग्न सकिन्छ१ तर, बर्सेनि तिनै सामुदायिक अवमाननलाई सम्झाउने कर्मकाण्ड रोक्न सम्भवमात्र होइन, आवश्यकसमेत भइसकेको छ।

राणाशाहीको अन्त्यपछि जुद्ध शमशेरबाहेकका महाराजहरूको सालिकलाई गल्ली र चोकबाट हटाएर टुँडिखेलको परिधिमा ठड्याइएको थियो। आस्था हुने तिनका सन्तति त्यस्ता पाश्चात्य मूर्तिकलाका नमूनाहरूको कहिलेकाहीँ सरसफाइ र रंगरोगन पनि गरिदिने गर्छन्। त्यस्तै, शाह महाराजाधिराजका प्रतिमाहरूका लागि पनि उपयुक्त ठाउँ सम्भवतः महाराजगन्जको शंखपार्क वा त्यस्तै कुनै सार्वजनिक स्थल हो। सिंहदरवारको मूलढोकामा अब नेपालका सबै जनताको सामूहिक जनआकांक्षा दर्साउने भविष्यमुखी कलाकृति संस्थापन गर्न सक्नुपर्छ।

समस्या अद्यापि गोर्खाली सम्भ्रान्तको मानसिकतामा छ। राजा पृथ्वीको घोडाको लिदी सोहोर्दै नेपाल उपत्यका पसेका सेवकका सन्तानहरू ख्वामितका कृपाले सुब्बा–खरदार भएर मालामाल भए। गोर्खाली दरवारका थरघरसँग जोडिएकाहरू भारदार र जागिरदार कहलिए। पण्डित, पुरोहित एवं पुजारीहरू कालान्तरमा विर्तावाल बन्न पुगे। कैयौँ पुस्ताका राजाहरूको काट्टो खाएर उपत्यकाबाहिर धपाइएकाहरूमा पनि सत्तासँग जोडिइरहने धित मरेको छैन। झण्डै २५० वर्षको शाह–राणा शासनले त्यस्ता व्यक्ति एवं परिवारहरूको ठूलै जमात खडा गरेको छ। शाह–राणाका कृपाले गण्डक क्षेत्रका खसआर्यले आफ्नो समुदायको धर्म, भाषा, भेषभूषा, जीवनशैली एवं रहनसहनलाई ुराष्ट्रियु दाबी गर्न पाएका छन्।

मेचीदेखि महाकालीसम्म आफ्नो वर्चस्व स्थापित गर्न पाएका गोर्खाली सम्भ्रान्तहरूको ‘सांस्कृतिक पुँजी’ राजाको समुदायको सम्झनासँग जोडिएको छ। स्वाभाविक हो, तिनमा राजा पृथ्वीप्रति गहिरो आदरभाव छ। पुर्खा पूजा धेरैजसो धर्ममा मान्य छ। राजा पृथ्वीको सालिकमा पहेँलो रंग दल्ने लक्ष्मणसिंह खड्काको कृत्यलाई उनको ख्वामितप्रतिको कृतज्ञताका रूपमा पनि अर्थ्याउन नसकिने होइन। समस्या त्यस प्रवृत्तिलाई ुराष्ट्रियु बनाइनुपर्ने जिद्दीले जन्माउँछ। राजा पृथ्वीका उपलब्धिहरूसँग नेपाल उपत्यकाका नेवार, मधेसका रैथाने जातजाति एवं आदिबासी तथा पहाडका कैयन् जनजातिको सामूहिक मानमर्दन (कलेक्टिभ ह्युमिलिएसन) पनि जोडिएको छ। त्यस्तो पीडालाई पुनर्जागृत गरिराख्नु राष्ट्रिय एकताका लागि प्रत्युत्पादक ठहरिन सक्छ।

दाबी गर्नेहरू भन्छन्– गोर्खाली समुदायको संस्कृति नै मानक नेपालीपन हो। केही सीमान्तकृत एवं बहिष्कृत समुदायका महत्वाकांक्षी व्यक्तिले त्यस्तो समरूपताको तर्क सहर्ष स्वीकार पनि गर्ने गर्छन्। वर्चस्वशाली समुदायको स्वीकृति पाउनका लागि अंगिकार गरिने निरीह कार्यनीतिका विभिन्न व्याख्याहरू छन्। दास मनोदसामा मालिकको नक्कल सही लाग्ने गर्छ। शरीर एवं सोच दुवै बन्धकमा परेका पीडितहरूमा अन्ततः पिडकप्रति नै सहानुभूति जन्मिने ुस्टकहोम सिन्ड्रमु पनि एउटा व्याख्या हो। व्यक्तिगत लाभको लोभ र अत्यधिक लालचले गर्दा शासित समुदायका केही याचकहरू ुटोडी बच्चाु प्रवृत्ति दर्शाउने गर्छन्। त्यस्ता व्यक्तिहरूलाई देखाएर वर्चस्व निरन्तरताको स्वभाविकता साबित गर्न सकिँदैन।

वाञ्छनीय बाटो

नेपालको तात्कालिक सन्दर्भमा राष्ट्रियताको समिचीन व्याख्या सन् १९७० ताका बीपी कोइरालाले गरेका थिए– ‘सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो।’ र, उनले के पनि भनेका थिए भने– ‘हजारौँको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन।’

विदेशी पल्टनको तलब एवं निवृत्तिभरणबाट पेट पाल्नेहरूको संख्या अहिले पनि हजारौँ छ। साथै, आधुनिक दासताको अवस्थामा पश्चिम, दक्षिण तथा पूर्वी एसिया एवं भारतमा श्रम गरिरहेकाहरूको विप्रेषणले नेपालको अर्थतन्त्रलाई धानेको छ। तिनको राष्ट्रियता भावलाई दिवंगत अधिनायकहरूको सम्झनासँग कतैबाट पनि जोड्न मिल्दैन। तेस्रो देशको नागरिकता, स्थायी आवास अनुमति वा (ग्रिनकार्ड) भनिने बासिन्दासरहको सुविधा पाइने इजाजतपत्र प्राप्त गरेका खसआर्य समुदायका व्यक्तिहरूमा गृहविरह (नोस्टाल्जिया) अवसादले गर्दा इतिहासका पात्रहरूप्रति भक्तिभाव ओर्लिनु अस्वाभाविक होइन। तिनलाई अब नेपालको जटिल वर्तमानसँग कुनै लेनादेना छैन। तर, त्यही विगतबाट ठगिएका समुदायलाई सधैँभर इतिहासको भारी बोकाइरहने अपेक्षा वस्तुपरक ठहरिँदैन।

प्रश्न भने उठाउन सकिन्छ इतिहाससँग लड्ने प्रयत्न अहिले किनरु उत्तर स्वतः स्पष्ट छ। संशोधित इतिहासबाट मुक्त नभएसम्म वर्तमानको संशोधन वा भविष्यको आयोजन सम्भवै छैन। राजा पृथ्वीको सम्झनाले खसआर्यको एकलजातीय वर्चस्वलाई बल पुर्‍याउँछ। राजा पृथ्वीलाई उपेक्षा नगरेसम्म सारभूत संघीयता सम्भव छैन। त्यसैले उनलाई इतिहासको पानामा सीमित गर्न जरूरी भइसकेको छ। राजा महेन्द्र एक धर्म, एउटा मात्र भाषा र एउटै भेषमा आधारित सांस्कृतिक राष्ट्रवादका प्रणेता थिए। उनको सामाजिक विरासतलाई तिलाञ्जली नदिएसम्म भविष्यमुखी नागरिक राष्ट्रियता निर्माण हुँदैन। समानुपातिक समावेशिता सुनिश्चित गर्न सकिँदैन। उनलाई बिर्सिनु अब आवश्यकतामात्र नभएर बाध्यता भइसकेको छ।

नेपालको राज्यसंयन्त्रमा व्याप्त रहेको एकल जातीय नियन्त्रण एवं त्यसले गर्दा चुलिएको भ्रष्टाचारका लागि राजा वीरेन्द्रलाई इतिहासले दोषमुक्त ठहर्‍याउन सक्ने छैन। सकारात्मक विभेदद्वारा सामाजिक न्याय सुनिश्चित गर्न राजा वीरेन्द्रको जातीय पदपूर्ति नीतिलाई बन्द गर्न ढिलो हुन लागिसकेको छ। पञ्चायतकालको नियमित चुनावको धङधङ बाँकी रहेकाले जनताको सही प्रतिनिधित्वको सुनिश्चितताका लागि सर्वस्वीकार्य संविधान एवं जनसंख्यामा आधारित निर्वाचन क्षेत्रले मात्र गर्न सक्छ भन्ने आधारभूत लोकतान्त्रिक मान्यतासमेत स्थापित हुन सकिरहेको छैन। राजा वीरेन्द्रको आत्माले शान्ति पाओस् भन्ने प्रार्थनामा उनका राजननीतिक विरासतबाट मुक्ति पाउने अपेक्षा पनि सन्निहित छ।

कुनै कालखण्डमा देशको इतिहासलाई सबैखाले राजाहरूको आवश्यकता थियो होला। त्यसैले ती जेजस्ता थिए, हुन पुगे तिनलाई सम्झेर अन्योलग्रस्त वर्तमान एवं अँध्यारो भविष्य भोग्न अभिशप्त रहिरहनु अब जरूरी छैन। भविष्यमा पुसलाई फासफुस हुनदिइरहनु नै सबैका लागि श्रेयष्कर हुनेछ।

Comments

comments