एजेन्सी । हलिउड टेलिभिजन सेलिब्रेटी ओफ्रा विन्फ्रेले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनाव लड्ने भएकी छन् । सोमबार बिहान गोल्डेन ग्लोब्स अवार्डमा सशक्त भाषण दिएपछि पुनः चर्चामा आएकी एक्ट्रेस एवं टेलिभिजन पर्सनालिटी ह्वाइट हाउसका लागि चुनाव लड्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

उनी निकट स्रोतले विन्फ्रेले चुनाव लड्ने मनस्थिती बनाएको र अहिल्यैदेखि डेमोक्राट दलको उम्मेदवारमा लबिङ थालेको जनाइएको छ । केही हलिउड मिडियाले उनको गोल्डेन ग्लोब्स भाषण राजनीतिमा सक्रिय हुने संकेत रहेको र ट्रम्पका लागि चुनौति बनेको बताएका छन् ।

उनले उक्त भाषणमा अमेरिकी मिडिया र हलिउडमा महिलामाथि हुने यौन शोषणको चर्को विरोध गरेकी थिइन् । उनको भाषणलाई हलिउड अभिनेत्री मात्र होइन राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले समेत प्रशंसा गरेकी छन् । यौन शोषणविरुद्ध चलेको मीटु मुभमेन्टको समर्थनमा उनीसहितका कलाकारले कालो पहिरन लगाएर उपस्थित भएका थिए ।

गोल्डेन ग्लोब्समा विन्फ्रेलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरियो । ६३ वर्षिया उनी फोब्र्स म्यागजिनको सूचिमा अमेरिकाकै तेस्रो धनी महिला हुन् । टाइम म्यागजिनले विन्फ्रे र ट्रम्पबीच सम्पत्ति, पृष्ठभूमि, लोकप्रियता लगायत धेरै कुरामा समानता रहेको लेखेको छ ।

Comments

comments