मेलबर्न । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुलाई लक्षित गरि एनआरएनए अष्ट्रेलियाले हेल्प डेस्क सुरु गरेको छ । अष्ट्रेलियामा रहने नेपालीहरुको समस्यामा सहयोग गर्नु संस्थाको कर्तव्य रहेको भन्दै एनआरएनए अष्ट्रेलियाले हेल्प डेस्कको सुरुवात गरेको हो ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु प्रशासनिक समस्या , स्वास्थ्य समस्या, कुनै घटना, ठगी आदि कारणले तनावमा आउने र कतिपय विद्यार्थीहरु डिप्रेसनमा समेत गइरहेको जानकारीहरु आइरहने हुँदा विशेष गरि विद्यार्थीहरुलाई लक्षित गरि हेल्प डेस्क संचालन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ” अब नेपाली विद्यार्थीहरुले कुनै पनि खालको समस्यामा परेको बेला एनआरएनए अष्ट्रेलियालाई आफ्नो नजिकको साथी सम्झी हेल्प डेस्कमा सम्पर्क गर्न सक्नुहुनेछ। संस्थाले सबैलाई समान व्यवहार गर्दै प्रभावकारी सहयोग गर्न सधै तत्पर रहनेछ ।”

विशेष गरि विद्यार्थीहरुको लागि लक्षित गरि हेल्प डेस्क संचालन गरिएतापनि यसमा समस्यामा पर्ने जोकोही नेपालीले सम्पर्क गर्न सक्नेछन् । हेल्प डेस्कको लागि फोन नम्बर १८०० ९५४ ५४० र इमेल [email protected] सम्पर्क माध्यम राखिएको छ ।

Comments