मधेसलाई नेपालबाट टुक्राउनुपर्ने अभियानमा लागेका डा. सीके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी थालेको छ ।

राज्य विरुद्धको उद्योग गरेको प्रमाणित भए राउतलाई जन्म कैद वा १० वर्षसम्म कैद सजायँ हुनेछ । गत शनिबार मोरङको रंगेलीबाट पक्राउ गरी हाल सार्वजनिक अपराधको मुद्दा चलाइएका राउतलाई शुक्रबार काठमाडौं ल्याएर सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।
सर्वोच्चमा परेको वन्दी प्रत्यक्षीकरणको रिट अनुसार अदालतले उनलाई हाजिर गराउन भनेको हो । सर्वोच्च अदालतले छाड्न आदेश दिने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले अर्को मुद्दाको तयारी थालेको हो ।

प्रहरीको दाबी अनुसार नेपाललाई टुक्राउने र यसका लागि मधेसबाट सेना हटाउन सशस्त्र संघर्ष गर्ने राउतले लिखित अभिव्यक्ति दिएका छन् ।

Comments

comments