काठमाडौं । डा‍ गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा मंगलबार बिहान काठमाडौंमा प्रदर्शन गरिने भएको छ । उनलाई सर्वोच्च अदालतमा पेश गर्नुअघि बिहान ८ बजे माइतीघर मण्डलामा उनका समर्थकहरुले प्रदर्शन आयोजना गरिने भएको हो।

यसैबीच पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा पनि प्रदर्शनमा सहभागी हुने भएका छन् । थापाले मंगलबार बिहान ८ बजे माइतीघर मण्डलामा केसी पक्राउको विरोधमा आयोजना हुने प्रदर्शनमा आफू पनि आउने जानकारी गराउँदै सबैलाई उपस्थित हुन अपिलसमेत गरेका छन्। उनले सोमबार राति ट्विट गर्दै भनेका छन्, ‘न्यायका लागि भोलि बिहान ८ बजे म माइतीघर जानेछु र विश्वास छ तपाईँ पनि आउनुहुनेछ।’

अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार नेपाली लोकतन्त्रले नदिएको भन्दै उनले प्रधान न्यायाधीश र सर्वोच्च अदालतको पछिल्लो कदमको आलोचना समेत गरेका छन्।

उनले केसीको उच्च प्रशंसा गर्दै भनेका छन्, ‘सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा। गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु। हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।’

थापाले केसी पक्राउको विरोध गर्दै उनलाई तुरुन्त रिहा गर्न सरकारसँग माग समेत गरेका छन्।

Comments

comments