मेलबर्न। अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या वर्षेनी बढीरहेको छ । नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा आएर पनि आफ्नो पढाइ र कामसंगै रुची तथा सिर्जनात्मक कामलाई पनि संगै लैजान सकियोस् भन्ने चाहन्छन् । जसको परिणाम स्वरुप अष्ट्रेलियामा नेपालीहरुका विभिन्न संस्था, समूह तथा क्लबहरु जन्मिरहेका छन् । यस्तै मध्येको एउटा क्लब हो, ‘ रोयल वेस्टर्न क्लब ‘ । 

रोयल वेस्टर्न क्लब सन् २०१५ मा स्थापना भएको हो। फुटबल प्रेमी युवाहरुले आफ्नो खेलप्रतिको रुचीलाई पूरा गर्दै नेपाली समुदायमा खेल क्षेत्रको विकास गर्न सघाउ पुर्याउने उद्देश्यले स्थापना गरेको यस क्लबमा हाल ४८ जना सदस्य रहेका छन्। क्लबका सबैजसो सदस्यहरु पश्चिमी क्षेत्रमा बसोवास गर्छन्।

इटालीका कोच मार्कले प्रशिक्षण दिने यस फुटबल क्लबको प्रशिक्षण समय हप्ताको प्रत्येक शनिबार बिहान तथा आइतबार र बुधबार साँझमा हुने गर्छ । प्रशिक्षण दुई घण्टा हुने गर्छ। जुझारु र लगनशील खेलाडीहरुको यस क्लबले अहिलेसम्म भाग लिएका धेरै जसो प्रतियोगितामा दोस्रो तथा तेस्रो स्थान हासिल गरेको छ । आफ्नो यो प्रयासलाई अझ प्रभावकारी बनाउंदै थप सफलता हासिल गर्नको लागि क्लबका प्रत्येक सदस्यले सक्दो मेहनत गरिरहेका छन् ।

रोयल वेस्टर्नको भावी योजनाको बारेमा बताउंदै क्लबका सचिव दिपेन्द्र खड्का भन्नुहुन्छ, ” हामीले क्लबलाई अझ व्यापक तरिकाले अगाडी बढाउन चाहन्छौं । त्यसैले अब क्लबमा युवा फुटबल टिम मात्र नभई बास्केटबल टिम, महिला फुटबल टिम , बालबालिकाको फुटबल टिम बनाउनेछौं । हाम्रो टिममा आउन चाहने जोकोहीलाई हामीले हार्दिकताका साथ स्वागत गर्छौं । हामी एउटा परिवार हौँ र धेरै भन्दा धेरै सदस्यसंग हातेमालो गर्दै नेपाली समुदायलाई खेलकुद क्षेत्रमा अगाडी बढाउन चाहन्छौं । ”

रोयल वेस्टर्न क्लबको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

Comments

comments