मेलबर्न । आजको फेशन एण्ड ब्युटी टक स्तम्भमा हामीले पोखरा घर भइ हाल अष्ट्रेलियामा नर्सिङ्ग विषय पढिरहनु भएकी प्रमिला क्षेत्रीसंग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसंग गरिएको छोटोमीठो कुराकानी :

नेपालमा तपाईंको स्थायी ठेगाना ?

मेरो घर पोखरा हो ।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?

म अहिले नर्सिङ्गमा डिप्लोमा गर्दैछु ।

तपाईंका रुचीहरु ?

मलाई घुम्न र नयाँ साथीहरु बनाउन मन पर्छ । प्राकृतिक सुन्दरताका फोटोहरु लिनु पनि मेरो रुचि हो ।

फेशनमा कत्तिको रुची राख्नुहुन्छ ?

रुची भन्दा पनि, फेशन ट्रेन्डहरुको जानकारी राख्छु ।

तपाईंलाई मन पर्ने फेशन ट्रेन्ड ?

आफूलाई सजिलो र परिस्थिति सुहाउँदो हुनुपर्यो, यही नै भन्ने छैन । वेस्टर्न ड्रेस लगाउन अलि सजिलो लाग्छ ।

लुगाहरु प्राय: कहाँ किन्ने गर्नुहुन्छ ?

जहाँ उचित मूल्यमा गुणस्तरीय र आफूलाई मन पर्ने लुगा पाइन्छ, त्यहीं किन्छु ।

कुन ब्राण्डको लुगा र जुत्ता किन्ने गर्नुहुन्छ ?

जुत्ता नाइकको किन्ने गर्छु । लुगा चाहिं यही ब्रान्ड भन्ने छैन ।

नेपाली ट्रेडिसनल ड्रेसहरु कहाँ किन्ने गर्नुहुन्छ ?

नेपाली ट्रेडिसनल ड्रेस नै त अहिलेसम्म आफैले किनेको छैन ।

ती नेपाली ड्रेसहरु कत्तिको महँगो छन् र आफूले चाहेको अनुसारको कत्तिको पाउनुभएको छ ?

सारीहरु भारतीय पसलमा उचित मूल्यमा पाइएता पनि नेपाली ट्रेडिसनल ड्रेस पाउन यहाँ गाह्रो छ र पाइयो भनेपनि अत्यन्तै महँगो छ । त्यसैले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा भाग लिनको लागि लगाउँदा मैले भाडामा लिएर लगाउने गर्छु ।

अष्ट्रेलियामा नेपाली ड्रेसहरु सुलभ मूल्य र सहज रुपमा उपलब्ध हुनको लागि के गर्नुपर्ला ?

नेपाली ड्रेसहरु यहीं सिलाउन सक्ने हो भने अलि सस्तो पर्थ्यो जस्तोलाग्छ अनि नेपालीहरुको बढ्दो संख्या र ड्रेसको माग अनुसार पसलहरु बढाउनु पर्यो ।

ब्युटी सलुन कत्तिको जानुहुन्छ ?

म ब्युटी सलुन जाने गरेकी छैन ।

नेपालीहरुले संचालन गरेको ब्युटी सलुनको सेवा बारेमा कस्तो प्रतिक्रियाहरु सुन्नु भएको छ ?

म आफू गएकी छैन । साथीहरुले भने अनुसार, नेपालीहरुले राम्रो सेवा दिन्छन् ।

नेपाली ब्युटी सलुन संचालकहरुको लागि के सुझाव दिन चाहनुहुन्छ ?

नयाँ प्रविधि अनुसार अपडेट हुँदै जानुपर्छ र नेपाली लगायत सबै ग्राहकहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ ।

Comments

comments