मेलबर्न । ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीद्वारा प्रायोजित नियमित स्तम्भ स्टुडेन्ट टकमा आज हामीले कावासोती, नवलपरासी घर भएका महेन्द्र अधिकारीसंगको कुराकानी समावेश गरेका छौं । उहाँ अहिले अष्ट्रेलियाको मेलबर्नमा रहेको एमआइटि युनिभर्सिटीमा मास्टर्स इन नेटवर्किंग पढ्दै हुनुहुन्छ । प्रस्तुत छ उहाँसंग गरिएको छोटोमीठो कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ?

मेरो घर नवलपरासी जिल्लाको कावासोतीमा पर्छ ।

अष्ट्रेलिया कहिले आउनुभयो ?

एक वर्ष भयो ।

अष्ट्रेलियालाई नै आफ्नो पढाइको गन्तव्य बनाउनुको कारण ?

राम्रो पढाइ र करियर विकास गर्न सकिन्छ भन्ने सोंचले ।

कुन युनिभर्सिटिमा कुन विषय पढ्दै हुनुहुन्छ ?

मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स इन नेटवर्किंग गर्दैछु ।

युनिभर्सिटी कसरि छान्नुभयो ?

आफूले पढ्ने विषय र पाठ्यक्रम भएको अनि सस्तो, राम्रो, बस्ने र काम गर्ने ठाउँसंग नजिक, यातायातको सुविधा आदि हेरेर युनिभर्सिटी छानेको हूँ।

यो विषय आफ्नो केही लक्ष्यले रोज्नुभयो की परिवारको सल्लाह वा दबाबमा ?

सिनियरहरु अनि परिवारसंग सल्लाह गरेर आफैले रोजेको हूँ ।

सुरुमा अष्ट्रेलिया आउँदाको अनुभव ?

नेपालभन्दा एकदमै फरक र नौलो हुनाले सुरुमा त रमाइलो लाग्यो । त्यसपछि काम र पढाइको दौडधुपले विस्तारै दिक्क लाग्न थाल्यो ।

युनिभर्सिटीमा नेपाली विद्यार्थीको लागि कत्तिको सहज वातावरण पाउनुभयो ?

सहज नै छ। आफू घुलमिल हुन र समय व्यवस्थापन गर्न जान्ने हुनुपर्यो ।

विद्यार्थी जीवनमा प्रेमजीवनमा प्रवेश गर्नु कत्तिको उचित हो जस्तो लाग्छ ? तपाईंको प्रेम अनुभव ?

सबै कुरा व्यवस्थित तरिकाले अगाडी बढाउन सक्ने व्यक्तिको लागि अनुचित होइन ।

कक्षामा कत्तिको निन्द्रा लाग्छ ?

धेरै थाकेको बेलामा लाग्छ ।

पढाइ र कामको लागि कसरि समय मिलाउनुहुन्छ ?

कलेज जानुपर्ने दिनमा कामबाट बिदामा बस्छु ।

सुरुमा काम खोज्दा कत्तिको गाह्रो भयो ?

खासै गाह्रो भएन । साथीहरु अनि दाजुभाइले सहयोग गर्नुभयो ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अहिले यहाँ भोगेको अष्ट्रेलियामा केही फरक ?

नेपालमा रहेर सोंचेको जस्तो सजिलो छैन । तर, राम्रो करियरको लागि संघर्ष त जहाँ पनि गर्नुपर्छ नै , त्यसैले खासै गाह्रो पनि लाग्दैन ।

अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष र सबैभन्दा नराम्रो पक्ष ?

म बसेको ठाउँ, मेलबर्नको हावापानी राम्रो छ अनि मानिसहरु पनि घुलमिल हुने खालको छन्, पढाइ राम्रो छ, अवसर छ । तर, धेरै व्यस्त जीवनशैली हुन्छ ।

कस्तोबेला अष्ट्रेलियाको बसाइ देखि खुशी लाग्छ र कस्तोबेला दिक्क लाग्छ ?

आफूले पढे अनुसार र काममा मेहनत गरे अनुसारको परिणाम आउँदा खुशी लाग्छ । कोठामा एक्लै बस्दा दिक्क लाग्छ।

पढाइ सकेपछि अष्ट्रेलिया बस्नुहुन्छ वा नेपाल फर्किने विचार छ ?

अझै निर्णय लिएको छैन ।

अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

आफ्नो पढाइको क्षेत्र, युनिभर्सिटी, पाठ्यक्रम, करियरको अवसर, यहाँ बस्दाका चुनौती सबै कुरा राम्रोसंग बुझेर र मानसिक रुपमा तयार भएर आउनुहोस् ।

नेपालमा रहेका परिवार, नातेदार वा साथीभाइलाई के भन्न चाहनुहुन्छ ?

हामी यहाँ करियर बनाउने बाटोमा मेहनतका साथ लागिरहेका छौं, त्यसैले चिन्ता नलिनुहोस् भन्न चाहन्छु ।

Comments

comments