मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा केही दिन अगाडी भव्यताका साथ महासप्ताह सम्पन्न भएको छ । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजनालाई मूर्त रुप दिनको लागि सप्ताहको आयोजना गरिएको थियो । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गरेको हो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत भएको सप्ताहमा नेपालको कला, संस्कृतिलाई प्रबर्द्धनको लागि हरसम्भव प्रयास गरिएको थियो भने हिन्दु र बौद्ध धर्मका ज्ञान तथा दर्शन सम्बन्धी चर्चा समेत गरिएको थियो । आठ हजार जनाभन्दा बढीको सहभागितामा सम्पन्न सप्ताहबाट १.१ मिलियन डलर सहयोग रकम संकलन भयो । स्थापित मात्र नभई विद्यार्थीहरुले समेत आजीवन सदस्यता लिएका कारण संकलित रकमको दुई तिहाई रकम आजीवन सदस्यताबाट उठ्नुले सामुदायिक भवन निर्माण र नेपाली पहिचानको सम्बर्द्धनको लागि नेपाली समुदायको उत्साह प्रष्ट हुन्छ ।

Image may contain: 3 people, people smiling, people standing and phone

सप्ताहलाई व्यवस्थित बनाउनको लागि केही महिना अगाडी नै ५०१ महायज्ञ व्यबस्थापन मुल समारोह समिती गठन गरिएको थियो। उक्त समितिको अध्यक्षमा डा. चन्द्र दिपक पोखरेल, मूख्य सचिवमा केसव कंडेल, उपाध्यक्षमा जोग लिम्बु, सल्लाहकारमा एनआरएनका अध्यक्ष शेष घले र भिक्टोरीयाका लागि अवैतानिक राजदुत चन्द्र योञ्जन, कोषाध्यक्षमा अनुपम पोखरेल , कार्यकारी कोषाध्यक्षमा राजेश आचार्य, सचिवमा सुनिल भण्डारी चयन हुनुभएको थियो ।

यसबाहेक सप्ताहलाई अझ व्यवस्थित बनाउनको लागि २७ उपसमितीहरु गठन गरिएको थियो भने ३५० जना भन्दा बढी स्वयंसेवकहरुले स्व:स्फूर्त रुपमा काम गरेका थिए । आयोजक समितिका अनुसार, स्वयंसेवकहरुको सहयोगले काम व्यवस्थित मात्र नभई ती कामको लागि लाग्न सक्ने ५० हजार डलर भन्दा बढी खर्च जोगिएको छ।

Image may contain: 9 people, people smiling, people standing, table and indoor

आयोजक समितिका अनुसार, सप्ताहमा संकलन भएको रकम बाहेक सामुदायिक भवन निर्माणको लागि विभिन्न माध्यमबाट तीन लाख डलर जम्मा भएको थियो । आयोजक समितिका प्रवक्ता सुनिल भण्डारीले भन्नुभयो, ” सप्ताह र सप्ताहको अगाडी खातामा रहेको रकम गरि सामुदायिक भवन निर्माणको सम्पूर्ण काम पूरा हुन नसक्ने अनुमान गरिएतापनि काम सुरु गर्नको लागि आधार भने बनेको छ । त्यसैले, अब छिट्टै ‘साइट’ बारे निर्णय गर्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने काम हुनेछ ।”

सप्ताहमा संकलित रकम सार्वजनिक गरिएतापनि खर्चविवरण निकाल्न भने बाँकी नै छ । आयोजक समितिले सप्ताहमा लागेको खर्च विवरण र संकलन भएको रकमबाट बच्ने रकमबारेमा छिट्टै सार्वजनिक गरिने बताएको छ । समितिले सप्ताह र सप्ताहको उद्देश्य सफल बनाउनको लागि प्रत्यक्ष रुपमा विभिन्न भूमिका निभाउने, सहभागी हुने तथा नैतिक समर्थन गर्ने सम्पूर्ण संघ-संस्था तथा व्यक्तिहरुलाई विज्ञप्ति, विभिन्न संचार माध्यम तथा सामाजिक संजालबाटबाट धन्यवाद संदेश दिइरहेको छ ।

Comments

comments