मेलबर्न । स्टुडेन्ट टक स्तम्भ अन्तर्गत आज हामीले गुल्मी घर भएका आशिष बस्नेत संगको कुराकानी समावेश गरेका छौं । उहाँ अहिले अष्ट्रेलियाको चार्ल्स डार्विन युनिभर्सिटीमा बि.पी.ए पढ्दै हुनुहुन्छ । प्रस्तुत छ उहाँसंग गरिएको छोटोमीठो कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ?

मेरो घर गुल्मी जिल्लाको तम्घास हो ।

अष्ट्रेलिया कहिले आउनुभयो ?

म यहाँ आएको चार वर्ष भयो ।

अष्ट्रेलियालाई नै आफ्नो पढाइको गन्तव्य बनाउनुको कारण ?

नयाँ प्रविधिको पहुँच, विश्वस्तरीय शिक्षा अनि करियरको अवसरले गर्दा ।

कुन युनिभर्सिटिमा कुन विषय पढ्दै हुनुहुन्छ ?

म अहिले चार्ल्स डार्विन युनिभर्सिटीमा बिपीए पढ्दैछु ।

युनिभर्सिटी कसरि छान्नुभयो ?

मैले यहाँ बस्नेहरुको सल्लाह लिएँ । अनि सस्तो, राम्रो, बस्ने र काम गर्ने ठाउँसंग नजिक, यातायातको सुविधा आदि हेरेर युनिभर्सिटी छानेको हूँ।

यो विषय आफ्नो केही लक्ष्यले रोज्नुभयो की परिवारको सल्लाह वा दबाबमा ?

+२ मा व्यवस्थापन विषय पढेको थिएँ । त्यही आधारमा विषय रोजें र परिवारसंग पनि सल्लाह गरें ।

सुरुमा अष्ट्रेलिया आउँदाको अनुभव ?

धेरै फरक । यातायातदेखि सबै कुरामा फरकपन पाएँ । फरक तरिकाले केही गर्नको लागि फरक तरिकाले सोंच्नुपर्छ भन्ने लाग्यो।

युनिभर्सिटीमा नेपाली विद्यार्थीको लागि कत्तिको सहज वातावरण पाउनुभयो ?

समय व्यवस्थापन गर्न जान्नुपर्छ । काम र पढाइलाई समय मिलाउन सकिएन भने असाइनमेन्ट पूरा गर्न गाह्रो हुन्छ।

विद्यार्थी जीवनमा प्रेमजीवनमा प्रवेश गर्नु कत्तिको उचित हो जस्तो लाग्छ ?

व्यक्तिअनुसार फरक पर्छ। सबै कुरालाई व्यवस्थित गर्न सक्ने मान्छेलाई केही असर गर्दैन जस्तो लाग्छ।

कक्षामा कत्तिको निन्द्रा लाग्छ ?

खासै निन्द्रा लाग्दैन ।

पढाइ र कामको लागि कसरि समय मिलाउनुहुन्छ ?

कलेजको बिदाको दिनमा काम गर्ने र प्रत्येक सेमेस्टरको भर्नाको आधारमा कामको लागि समय मिलाउँछु ।

सुरुमा काम खोज्दा कत्तिको गाह्रो भयो ?

दाइले रिफर गर्नुभएकोले गाह्रो भएन ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अहिले यहाँ भोगेको अष्ट्रेलियामा केही फरक ?

नयाँ ठाउँ भएको भएर आफूले सोंचे भन्दा फरक त हुन्छ नै । तर नेपालमा पनि काम गरेको अनुभव भएको भएर त्यति धेरै दु: ख चाहिं लागेन ।

अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष र सबैभन्दा नराम्रो पक्ष ?

अष्ट्रेलियामा अवसर र सुविधा छ, मानिसहरु आत्मनिर्भर छन् । नराम्रो पक्ष भनेको, सहयोगको खाँचो हुँदा खुलेर सहयोग गर्ने मान्छे हुँदैन ।

कस्तोबेला अष्ट्रेलियाको बसाइ देखि खुशी लाग्छ र कस्तोबेला दिक्क लाग्छ ?

नेपालीहरुसंग भेटघाट हुँदा खुशी लाग्छ । काम, पढाइको तनावले दिक्क लाग्छ। विदेशी जीवनमा ‘प्रेसर’ अलि बढी नै हुन्छ जहाँ पनि ।

पढाइ सकेपछि अष्ट्रेलिया बस्नुहुन्छ वा नेपाल फर्किने विचार छ ?

हेरौं ! पढाइ सकौं पहिला अनि निर्णय लिने ।

अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

कलिलो उमेरमा नै नआउनुहोस् । संघर्ष गर्न सक्ने हिसाबले मानसिक तथा शारीरिक रुपमा परिपक्क भएपछी आउनुहोस् र राम्रोसंग बुझेर मात्र आउनुहोस् ।

नेपालमा रहेका परिवार, नातेदार वा साथीभाइलाई के भन्न चाहनुहुन्छ ?

ठीक छु, लामो समयदेखि टाढा रहेको छु । छिट्टै आउनेछु ।

Comments

comments