काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधिका लागि फाइनल खेल आज हुँदैछ । खेल कीर्तिपुरमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ ।

इपिएलको फाइनलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का नै कप्तान रहेको विराटनगर वारियर्स र राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्स खेल्दैछन् ।

विराटनगरले यस प्रतियोगितामा अहिलेसम्म सबै खेल जितेको छ । भैरहवा विराटनगरसँग समूह चरणमा ३५ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो । क्वालिफायरमा पराजित भए पनि भैरहवाले इलिमिनेटरमा ललितपुरलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो ।

विराटनगरका लागि कप्तान पारससँगै बसन्त रेग्मी तथा हङकङ्गका खेलाडी बाबर हायत र अंशुमन रथले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने भैरहवाका लागि कप्तान भेषावकरसँगै आरिफ शेख, रोहितकुमार पौडेल, दिपेश श्रेष्ठ भारतीय खेलाडी पुनित मिश्रा र पुनित विष्ट, हरिशंकर साह लगायतले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

Comments

comments