मेलबर्न । नेपालीहरु अष्ट्रेलियामा आएर स-साना काममा अल्मलिएका मात्र छैनन् । आफ्नो मेहनत र संघर्षले सफलता हासिल गरिरहेका पनि छन् । त्यसै मध्येका एक हुनुहुन्छ, समाजसेवी तथा व्यवसायी सुरेन्द्र सेढाई ।

चितवन जिल्लाको राप्ती नगरपालिकामा स्थायी घर हुनुभएका सुरेन्द्र सेढाई विद्यार्थी भिसामा अष्ट्रेलिया आउनुभएको हो । अष्ट्रेलिया आएर काम तथा पढाइलाई निरन्तरता दिंदै जानुभएका उहाँ हाल नेपाली समुदायमा सफल व्यवसायी मध्येमा मानिनुहुन्छ । उहाँले हाल ‘बायर्स चोइस मोर्टेज एण्ड फाइनान्स’ नामक फाइनान्स कम्पनी चलाइरहनुभएको छ ।

व्यवसायिक दक्षता भएका व्यक्तिको रुपमा चिनिने सेढाईले ‘ बायर्स चोइस एक्सिलेन्स अवार्ड’ २०१६ र २०१७प्रोफेसनल लेन्डर्स एसोसिएसन नेटवर्क अष्ट्रेलियाको एक्सिलेन्स इन फाइनान्स अवार्डएनआरएनए स्टेट पर्सनालिटी अवार्ड (भिक्टोरिया) जस्ता सम्मानित अवार्ड प्राप्त गर्नुभएको छ । आफ्नो व्यावसायिक जीवनको बारेमा उहाँ भन्नुहुन्छ, ” अष्ट्रेलिया आएपछि अरु विद्यार्थी जस्तै म पनि, अध्ययन र विभिन्न थरि काम गर्नमै लागिरहें। त्यसपछि आफ्नै केही गरूँ भन्ने व्यक्तिगत चाहना अनि श्रीमतीको साथ र प्रेरणाले २००८ देखि व्यवसायिक क्षेत्रमा हाल हालेको हूँ । अहिले म फाइनान्स चलाइरहेको छु, जसको मूख्य क्षेत्र होम लोन हो । ” उहाँले होम लोनको क्षेत्रमा ब्रोकर देखी बैंकसम्म प्रतिस्पर्धा गर्नुपर्ने हुँदा जोखिमयुक्त र अत्यन्त प्रतिस्पर्धी काम भएतापनि मेहनतका साथ आफू गाडी बढिरहेकोले यहाँसम्मको सफलता हासिल गरेको बताउनुभयो ।

व्यवसायी सेढाईले अहिलेको आफ्नो कामलाई निरन्तरता दिंदै निकट भविष्यमा नै आफ्नो सेवा क्षेत्र बढाउने उद्देश्यका साथ गृहकार्य गरिरहेको बताउनुहुन्छ। उहाँको अनुभवमा, निरन्तर मेहनत गर्दै नियममा रहेर काम गर्ने व्यक्तिले अष्ट्रेलियामा व्यवसायिक क्षेत्रमा सफलता हासिल गर्न सक्छ। अष्ट्रेलियामा व्यवसाय गर्न चाहने नेपाली युवाहरुलाई सुझाव दिंदै उहाँ भन्नुहुन्छ, ” पहिलो आफ्नो पढाइलाई प्राथमिकता दिनुहोस् । त्यसपछि तपाईंले गर्न चाहेको व्यवसायको यहाँ कत्तिको बजार छ, सम्भावना र जोखिम कस्तो छ भन्ने बुझ्नुहोस् । त्यसपछि आवश्यक जोखिम उठाएर उचित तरिकाले लगानी गरि निरन्तर मेहनत गर्नुहोस् । र, अर्को महत्वपूर्ण कुरा, धैर्य गर्न सिक्नुहोस् ।”

सफल व्यवसायी सेढाईले आफ्नो परिचय समाजसेवी तथा नेपाली समुदायको सामाजिक अगुवाको रुपमा समेत बनाउनुभएको छ । नेपाली समुदायको सबैजसो सामाजिक काममा सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गर्ने उहाँ नेपलिज एसोसिएसन भिक्टोरियाका निवर्तमान उपाध्यक्ष, एनआरएनए भिक्टोरियाका सल्लाहकार, नेपलिज एसोसिएसन अफ भिक्टोरियाका सल्लाहकार समेत हुनुहुन्छ ।

Comments

comments