काठमाडौ । रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् ।

मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् । महानगरपालिकाले पुनर्निर्माण गर्ने क्रममा हाल रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गरिएको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भने पुरातत्व विभागले गरिरहेको छ।

उपमेयर खड्गी रानीपोखरी पुग्दा भेला भएका स्थानीयले आधुनिक निर्माण सामग्रीको प्रयोगले सम्पदाको अस्तित्व संकटमा परेको गुनासो गरेका थिए । रानीपोखरी संरक्षण अभियन्ताले खड्गीको अनुगमनलगत्तै पोखरी प्रवेशमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण मंगलबारदेखि निर्माण कार्य रोकिएको छ ।

उपमेयर फर्किएको केही समयपछि मेयर विद्यासुन्दर शाक्य रानीपोखरी पुगे । शाक्य पुग्दा प्रवेशद्वारमा ताला लागेको थियो । त्यहाँ लेखिएको थियो, ‘सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी ।’

Comments

comments