काठमाडौं । जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्थाले पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ गर्ने भएको छ ।

जलविद्युत विकास र विस्तारमा सहयोग पुग्ने गरी नयाँनयाँ प्रविधि तथा ज्ञानका बारेमा समेत जानकारी दिने उदेश्यले प्रदर्शनी आयोजना गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।

प्रदर्शनीमा जलविद्युत् उत्पादनकर्ता, सामान आयात गर्ने संस्था वा निकाय, परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता तथा बैंक र वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रदर्शनीमा नेपाल, चीन, भारत, नर्वे, दक्षिण कोरिया, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ ।

दर्जनौँ विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभवको आदानप्रदान हुने इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए । सरकारले दश वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्न ठूलो लगानी चाहिने बैंक तथा वित्तिय संस्थालाई पनि यथार्थ जानकारी दिन आवश्यक भएको आयोजकले बताएका छन् । मुलुकमा तीन हजार पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण सम्झौता भइसकेको छ ।

Comments