सन् २०१७ मा विभिन्न घटनाले मिडियामा हलचल मच्याए । ती घटनाक्रमहरुका भिडियो तथा फोटोहरुले सामाजिक संजालमा समेत प्रभाव देखाए। गत वर्षका ती तस्बिरहरु मध्ये बढी चर्चित भएका १० तस्बिरहरुलाई यहाँ समावेश गरिएको छ :

१.सन् २०१७ मा अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाकर्मी र आतंककारी समूहबीच भिडन्त भइरहँदा एक बालक टुलुटुलु सुरक्षाकर्मीलाई हेरिरहेको तस्बिर सबैभन्दा उत्कृष्ट मानिएको छ । चारवर्षे बालक आफ्नो हजुरबुवासँगै मस्जिद पुगेका थिए । आक्रमणमा बालकका हजुरबुबाको निधन भएको थियो ।

२. म्यानमार सैनिकको कारबाही सहन नसकी रोहिंग्या शरणार्थी नदी पार गर्ने क्रममा भोगेको पीडा दोस्रो शक्तिशाली तस्बिर हो । बंगलादेश र म्यानमारबीचको नदी पार गर्ने क्रममा एक महिला हिलैहिलोको खाडलमा फसेकी देखिन्छिन् ।

३. मध्यपूर्वी एसिया सिरियाको गृहयुद्ध पूरा भएको छैटौँ वर्षको अवसरमा लिइएको तस्बिर तेस्रो उत्कृष्ट हो । ९ मार्चमा ७० वर्षीय वृद्ध व्यक्ति कामै नलाग्ने खण्डहर घरमा आरामपूर्वक बसिरहेका छन् । आफ्नो निजी बेडरुममा उनी सिगारको आनन्द लिइरहेका छन् ।

४.यो तस्बिर उत्तर कोरियाका नेता किम जोङ उनको हो । हुवाङसाङ–१२ को क्षेप्यास्त्र परीक्षण गर्दा उन पनि परीक्षणस्थलमै पुगेका थिए । हुवाङसाङ–१२ क्षेप्यास्त्र लन्च हुँदा उन निकै चासोका साथ हेरिरहेका देखिन्छन् ।

५. क्यालिफोर्नियामा इतिहासकै ठूलो डढेलो लाग्यो । घटना क्यामेरामा कैद गर्न एसोसिएट प्रेसका फोटोजर्नालिस्ट खुला मैदानमा पुगेका थिए । अचम्म के रह्यो पछाडि जंगलमा दनदन आगो बलिरहँदा गल्फ कोर्समा प्रतियोगिता भइरहेको थियो । पछाडि आगो र बीचमा गल्फ सट प्रहार गरिरहेको तस्बिर चौथो उत्कृष्ट तस्बिर बन्यो ।

६. अष्ट्रेलियन संसदमा कारबाही चलिरहँदा सिनेटर लैरिया वाटर्सनले आफ्नी दुईमहिने छोरी आलियालाई स्तनपान गराइन् । वाटर्सनकी छोरी आलिया संसद् भवनमै आमाको स्तनपान गर्ने पहिलो नानी बनेकी छिन् ।

७. स्टिफन पेडोकले अमेरिकाको लास भेगासमा भएको सांगीतिक कन्सर्टमा अन्धाधुन्द गोली चलाएका थिए । एक महिला भाग्न नसकेपछि भुइँमै लडिन् । ती महिलालाई गोली नलागोस् भनी उनका प्रेमीले शरीर ढाक्ने प्रयास गरेको देखिन्छ । फोटो जर्नालिस्ट डेबिड बेकरले प्रेमीले आफ्नो ज्यानको कुनै मतलब नराखी प्रेमिकाको सुरक्षा गरेको भनी पोस्ट गरेको तस्बिर सन् २०१७ कै सातौँ उत्कृष्ट रह्यो ।२२ हजार दर्शकबीच पेडोकले गोली चलाउँदा ५९ व्यक्तिले ज्यान गुमाए ।

८. अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भवनभित्र प्रवेश गराउन उपस्थित भएका थिए । ट्रम्प छिटो हिँड्दा उनकी श्रीमती मेलानिया पछाडि परिन् । र, ओबामा जोडीले मेलानियालाई ढोकाभित्र प्रवेश गराउँदै गरेको तस्बिरले आठौँ उत्कृष्ट तस्बिरका रूपमा चर्चा पाएको छ ।

९.यसै वर्ष सेनाले सत्ता हातमा लिएपछि जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे एक हप्तासम्म नजरबन्दमा परेर ३७ वर्षपछि सत्ता छाडे । सेना र विपक्षीसँग सम्झौता गर्दै उनले २१ नोभेम्बरमा राष्ट्रपतिबाट राजीनामा दिए । मुगाबेको राजीनामासँगै सरकारी कार्यालय तथा अन्य कार्यालयमा राखिएको उनको तस्बिर हटाइयो । आक्रोशबीच राष्ट्रपति मुगाबेको तस्बिर हटाइएको दृश्य नवौँ शक्तिशाली तस्बिर रह्यो ।

१०. यसपटक ८९औँ ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषणा गर्ने व्यक्ति मुख्य ‘खाम’ नलिएर अर्कै लिएर कार्यक्रमस्थलमा पुगेका थिए । उनले मुनलाइट भन्नुपर्नेमा ‘ला ला ल्यान्ड’ सन् २०१६ को उत्कृष्ट फिल्म घोषणा गरे । त्यसपछि आयोजकका पदाधिकारीहरूले गलत फिल्म घोषणा भएको उनलाई जानकारी दिए । त्यसपछि मुख्य खाममा रहेको नाम घोषणा गरी उनले आफ्नो गल्ती स्विकारे ।

 

Comments

comments