मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपाली समुदायले आयोजना गरेको सप्ताह भव्यताका साथ सम्पन्न भएको छ । गत सोमबार देखि सुरु भएको सप्ताह हिजो आइतबार समापन भएको हो ।

सप्ताहलाई मेलबर्नवासीहरुले सात दिनसम्म लगातार उत्तिकै उत्साहका साथ सहभागी भएर एक उत्सवकै रुपमा समापन गरे । पण्डित दिनबन्धु पोखरेलको कथावाचन रहेको सप्ताहमा अन्य राज्यमा बस्ने नेपालीहरुले समेत ऐकेबद्धता जनाए ।

पशुपतिनाथ र बौद्धनाथ मन्दिर सहितको सामुदायिक भवन बनाउने अभियानको रुपमा आयोजना गरिएको सप्ताहमा मानिसहरुको उत्साह यतिसम्म रह्यो की, हिजो सप्ताह सकिएपछि पनि आज मानिसहरु सप्ताह आयोजना गरिएको ठाउँमा पुगेर फर्किए। सप्ताह सकिएको अर्को दिन अर्थात आज सप्ताह आयोजना भएको ठाउँमा पुगेर फर्किनुभएकी विमला शर्माका अनुसार, उहाँ सहित अन्य केही व्यक्ति समेत सप्ताह आयोजना गरेको ठाउंमा पुग्नुभयो । उहाँले त्यहाँ पुगेर सप्ताह समापन भइसकेको थाहा पाएपछि आफूहरु फर्किएको बताउनुभयो ।

सामुदायिक भवन निर्माणको जिम्मा लिएको एएनएमसीले आयोजना गरको सप्ताहमा सम्पूर्ण संघ-संस्था, सामाजिक अगुवा तथा विद्यार्थीहरुले समेत आफ्नो महत्वपूर्ण योगदान गरे । डेढ मिलियन डलर सहयोग रकम संकलन गर्ने लक्ष्य लिइएको सप्ताहमा करिब १.२ मिलियन डलर सहयोग रकम संकलन भयो ।

५ सय १ सदस्यीय सप्ताह मूल आयोजक समित गठन गरि तयारि गरिएको सप्ताहमा स्वयंसेवक, खाना, सहयोग संकलन, दान व्यवस्थापन, प्रचारप्रसार लगायतका छुट्टा छुट्टै कमिटी गठन गरेर व्यवस्थित रुपमा अघि बढाएको थियो । सप्ताहमा करिब ५ हजार नेपालीले सहभागिता जनाए ।

Comments

comments