मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि निवर्तमान एनआरएन अध्यक्ष दम्पत्ति शेष घले र जमुना गुरुङले दुई लाख आठ सय ८८ डलर प्रदान गरेका छन् ।

सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा आइतवार पुगेका उनीहरुले रकम दान गर्ने घोषणा गरेका हुन् ।

सहयोग रकम घोषणा गर्दै घलेले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने बिश्वास व्यक्त गरे । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने उनले बताए ।

अष्ट्रेलियाका सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वका रुपमा परिचित घले दम्पत्ति झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका छन् । उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ । फाउण्डेसनकी संस्थापक जमुना गुरुङले सामुदायिक भवन निर्माणका लागि सहयोगी बन्न पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् ।

सामुदायिक भवन निर्माण गर्न झण्डै १५ लाख डलर लागत पर्ने अनुमान गरिएको छ । भवनमा पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत रहने बताइएको छ ।

Comments

comments