एजेन्सी । क्रिसमस आएसँगै एकजना वृद्ध व्यक्तिको तस्वीर पनि सबैतिर छाउँछ । तर, क्रिसमसमा ती व्यक्तिको मात्रै चर्चा किन हुन्छ ? को हुन् ती वृद्ध अनुहारका व्यक्ति ? धेरैलाई चासोको विषय हुनसक्छ ।

क्रिसमसका बेला सबैतिर छाउने ती व्यक्ति हुन सान्ता क्लज । उनी कसरी चर्चित भए भन्ने बारेमा एउटा कथा छ ।

उनी एसियाको मार्या (हालको टर्की)का एक पादरी थिए । उनी धेरै नै धनी र दयालु थिए । मानिसहरुलाई दुःख परेको बेला उनले गोप्य रुपमा सहयोग पनि गर्थे ।

उनको गाउँमा एकजना गरिब मानिस थियो । उसका तीनजना छोरीहरु थिए । ती गरिब मानिसले दाइजो दिन नसक्ने भएकोले उसको छोरीहरुको बिहे हुन सकेको थिएन ।

एक दिन सेन्ट निकोलसले कसैले थाहा नपाउने गरी सुनको थैलो ती मानिसको घरको चिम्निबाट खसालिदिए । त्यसरी खसालिएको थैली सुकाउनका लागि झुन्ड्याइएको मोजा भित्र पर्यो । मोजाभित्र सुनको थैलो फेला परेपछि उक्त व्यक्तिले आफ्नी जेठी छोरीको विवाह गरिदिए । त्यसैगरी उनको माइली छोरीको बिहे गर्ने बेलामा पनि सुनको थैलो खस्यो ।

चिम्निबाट कसरी सुन आयो ? भन्ने पत्ता लगाउन ती व्यक्ति चिम्निको आडमा लुकेर बसे । अन्तिममा निकोलसले सुन खसालि दिनेगरेको पत्ता लाग्यो । पोल खुलेपछि निकोलसले यो कुरा कसैलाई नभन्न ती मानिसलाई आग्रह गरे । तर, यो कुरा एक कान दुई कान मैदान भयो । र, सेन्ट निकोलसको दयाभावले उनलाई सन्त बनाइदियो ।

अर्को एक कथा अनुसार उनले टर्किको समुन्द्रीतटमा ठूलो समुन्द्री आँधीबाट फसेका समुन्द्री यात्रीहरुलाई पनि निकोलसले सहयोग गरेका छन् । आँधीले जहाज डुबाउन लागेपछि उनीहरुले सन्त निकोलसलाई सम्झिएर प्रार्थना गरे । त्यसपछि उनी आफै त्यो जहाजको डेकमा आएर समुन्द्रलाई शान्त हुन आग्रह गरे त्यसपछि आँधी बन्द भयो र जहाजका यात्रुहरु सकुशल उत्रिए भन्ने किंवदन्ती छ ।

तर सन्त निकोलसलाई त्यसबेलाका सम्राट डाएक्लोटिएनले धेरै नै सताएका थिए । कतिसम्म भने उनलाई मार्याबाट निकाला समेत गरिएको थियो । त्यतिले मात्र चित्त नबुझेर उनलाई कैदमा पनि राखिएको थियो । सन्त निकोलसको दिन ६ डिसेम्बरमा निधन भयो तर, सन् ३४५ वा ३५२ भन्नेबारे चाहिं अझै प्रस्ट भएको छैन ।

उनको हड्डीहरु सन् १०८७ मा टर्किबाट चोरी भएको थियो । अहिले ती हड्डीहरु इटालीको बारीमा एक चर्चमा राखिएको छ । सन्त निकोलस दिवसको उपलक्ष्यमा समुन्द्रयात्रीहरुले उनको मुर्ती चर्चबाट बोकेर समुन्द्रसम्म पुर्याउछन् । किनभने उनले समुन्द्रमा आशीर्वाद दिनेछन् र वर्षभरी समुन्द्रयात्रा सुरक्षित हुनेछ भन्ने विश्वास रहिआएको छ ।

सन्त निकोलस कसरी सान्ता क्लज बने ?

१६ औं शताब्दीसम्म उत्तरी युरोपमा सन्त निकोलसको कथाहरु त्यति लोकप्रिय थिएनन् । तर, कसैले क्रिसमसमा केटाकेटीहरुलाई उपहार दिनेबेलामा विशेषगरी इङ्ल्याण्डमा उनको नाम ‘फादर क्रिसमस’ वा ‘ओल्ड म्यान क्रिसमस’ राखियो । फ्रान्समा भने उनी ‘पेरे नोयल’ नामले चिनिए ।

अष्ट्रिया र जमर्नीमा केटाकेटीलाई क्रिसमसमा उपहार दिने ‘क्रिस्टकाइन्ड’ सुनौलो कपाल र पखेटा भएका बालक थिए । जुन भर्खरै जन्मेका जिससको प्रतीक थियो ।

अमेरिकामा उनको नाम ‘क्रिस्टकाइन्ड’ बाट क्रिसकिन्जल भयो तर पछि डच उपनिवेशकहरुले अमेरिकामा सन्त निकोलसको कथाहरु लिएर गए । त्यसपछि उनी सन्त निकोलस र क्रिसकिन्जलबाट ‘सिन्तरक्लस’ बने जुन आजकाल ‘सान्ता क्लज’ भनेर चिनिन्छ ।

धेरै देशहरुमा विशेषगरी युरोपमा सन्त निकोलस दिवसको रुपमा डिसेम्बर ६ लाई मानिन्छ । हल्यान्ड र अन्य युरोपियन देशहरुमा बच्चाहरुले डिसेम्बर ५ को रात जुत्ता घर बाहिर छोड्छन् । किनकी, जुत्तामा उपहार भरिएको हुन्छ भन्ने विश्वास रहिआएको छ ।

कसरी प्रख्यात भए ‘सान्ता क्लज’ ?

भिक्टोरियन साहित्यकारहरुले सन्त निकोलसका पुराना कथाहरु फेला पारेर लेख्न थालेपछि ‘सान्ता क्लज’ लोकप्रिय हुँदै गए । उनको बारेमा धेरै कथा, कविताहरु प्रकाशित भएका छन् । पछि विस्तारै युकेको ‘फादर क्रिशमस’ र अमेरिकाको ‘सान्ता क्लज’ उस्तै र एउटै भए ।
क्रिश्चियन कथाअनुसार ‘सान्ता क्लज’ उत्तरी ध्रुवमा बस्ने गर्छन् र उनी आकाशमा रेनडियरले तान्ने स्लेजमा यात्रा गर्छन् । उनी क्रिसमसमा राति घरघरमा आँउछन् र चिम्निबाट केटाकेटीहरुको मोजा, झोला, ओच्छ्यान, क्रिशमस ट्रिमा वा अँगेनामा उपहारहरु खसालिदिन्छन् ।

त्यसैले अहिले पनि धेरै केटाकेटीहरुले आफ्नो उपहार क्रिसमस इभको राती वा क्रिसमसको बिहान प्राप्त गर्छन् । तर, केही देशहरुमा भने केटाकेटीहरुलाई सन्त निकोलस इभ डिसेम्बर ५ मै उपहार दिइन्छ । धेरै देशमा चाहीँ डिसेम्बर २५ मा नै क्रिसमस डे मनाइन्छ ।

‘सान्ता क्लज’को कपडा

भिक्टोरियन समयमा सान्ता क्लजले रातो, हरियो, निलो, खैरो भुवादार कपडा लगाएको चित्रहरुमा देखिन्छ तर पछि रातो लगाएको धेरै लोकप्रिय भयो ।

सन् १८६३ को हार्पर विक्ली म्यागेजिनमा थोमस नास्टले डिजाइन गरेको सन्त निकोलसको पहिलो चित्र प्रकाशित भयो । त्यसपछि नास्टले २० वर्षसम्म सान्ताको चित्र बनाए र पछि अरु चित्रकारहरुले पनि उनीबाटै प्रभावित भएर त्यस्तै देखिने चित्रहरु बनाए ।

नास्टको चित्रबाट नै सान्ता क्लजले लगाउने अहिलेको रातो र सेतो कपडाको विकास भयो । १९०० देखि १९३० को बिचमा सान्ताको रातो र सेतो पोशाक लगाएको चित्रहरु धेरै नै लोकप्रिय भयो ।

Comments

comments