काठमाडौं । रानीपोखरी पुनर्निर्माणका विषयमा विभिन्न चर्चा चलिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावश्यक विवाद झिकेर पुनर्निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् ।

उनले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित हुनु अघिकै भएकोले सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।

‘पुरात्व विभाग, पुर्ननिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्युले रानीपोखरी पुर्ननिर्माणको शिल्यान्यास गर्नुभएको हो,’ मेयर शाक्यले भने, ‘उक्त योजना पहिलाकै भएकाले मैले डिजाइनमा सामान्य हेरफेर गरेर पुरानै संरचना अनुरुप पुर्ननिर्माण गर्न निर्देशन दिएको छु । यसमा अनावश्यक विवाद झिकेर काममा अवरोध गर्नुको कुनै औचित्य छैन । पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै पुनर्निर्माणको काम अघि बढेको छ ।’

उनले पुरातत्वविदहरुले अनावश्यक ढंगले काममा अवरोध गर्ने प्रयास गरेको समेत आरोप लगाएका छन् । ‘मैले पुरातत्वविदहरुसँग पटक–पटक सल्लाह गरेको छु,’ मेयर शाक्यले भने, ‘सबै त भन्दिन केही पुरातत्वविदहरुले मसँग एउटा अनि बाहिर र मिडियासँग अर्को कुरा गरेर आफूलाई लोकप्रिय बनाउन खोजेकाले समस्या भएको हो ।’

शाक्यले शिल्यान्यास गर्ने बेलामा केही नभनेर अहिले पुर्ननिर्माणको काम अघि बढ्न थालेपछि विरोध गर्ने कुरा गलत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अहिले केही पुरातत्वविदहरुले रानीपोखरी भित्रै कफी सप खोल्ने तयारी भएको र सम्पदा मास्ने काम भएको भन्दै हल्ला गरेका छन्,’ उनले भने, ‘कफिसप रानीपोखरी भित्र होइन अहिले गणेशमान सिंहको शालिक भएको ठाउँ शान्तिवाटिका आसपासमा खोल्ने तयारी भएको हो ।’

उनले सम्पदा विग्रिने भन्दा आफूलाई कसरी लोकप्रिय बनाउन सकिन्छ भनेर हल्ला गरेको आरोप लगाउ । देश–विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई लोभ्याउने पर्यटकीय स्थलका रुपमा रानीपोखरीको विकास गर्ने जानकारी दिए ।

‘रानीपोखरीमा वाटर फाउन्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौ,’ उनले भने, ‘सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि बैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।’

उनले आफू काठमाडौँ महानगरपालिकाको वडाध्यक्ष भएकै बेला तत्कालिन मेयर केशव स्थापितले रानीपोखरी छेउमा रहेका घर र टहरा भत्काएर शान्तिवाटिका निर्माण गरेको स्मरण गराउँदै भने, ‘अब यो क्षेत्रलाई अझ सुन्दर र रमणीय बनाउँने हो । रानीपोखरी घुम्न आउनेले कफि खान र ट्वाईलेट प्रयोग गर्न ठमेल जानु पर्दैन यी सबै सुविधाको व्यवस्था रत्नपार्कमा हुन्छ ।’

मेयर शाक्यले रानीपोखरी पुर्ननिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै पुरातत्वविदहरुले गरेको आपत्ति प्रति संकेत गर्दै भने, ‘रानीपोखरीमा पानी अड्याउने व्यवस्था त हुनु पर्यो नि ? अझै पनि मैले छलफल गरिरहेको छु । जसो गर्दा सहज हुन्छ त्यसैगर्ने हो ।’

शाक्यले रानीपोखरी प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समय सापेक्ष बनाउने पनि दाबी गरे ।

Please follow and like us:

Comments