मेलबर्न । अष्ट्रेलियामा समर सिजन शुरु भएसँगै निकै गर्मी बढेको छ । गर्मी महिना र क्रिसमस तथा नयाँ वर्षको बिदाले गर्दा समुद्री किनार धेरैको लागि रमाइलो गर्ने ठाउँ हुन सक्छ । गर्मीले गर्दा पौडी खेल्न मन लाग्नु पनि स्वाभाविक हो । तर पछिल्लो समयमा अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने दर बढ्दै गएको छ । गत वर्ष पनि केही नेपालीले पौडी खेल्ने क्रममा डुबेर मृत्युवरण गरेका थिए ।

यसरी डुबेर मृत्यु हुने घट्ना बढ्नुमा व्यक्ति स्वयम्को लापारवाही र असावधानी प्रमुख कारण मानिएको छ । पौडी खेल्ने कलामा निपूर्ण नभएका र पानीको गहिराईको अन्दाज थाहा नपाईकन पानीमा बस्नेहरु डुबानमा पर्ने गरेका छन् ।

अष्ट्रेलियाको जल सुरक्षा विभागले पौडी खेल्न जाँदा सावधानी अपनाउन र आफ्नो सुरक्षाको बारेमा विशेष ख्याल गर्न अपिल गरेको छ ।

सुरक्षाका लागि पौडी खेल्न जानुअघि यी कुराहरुमा विशेष ध्यान दिन भनिएको छ :

१ सधैं रातो र पहेंलो झण्डाको बीचमा मात्र पौडनुहोला ।

२.समुद्री तटको किनारामा राखिएका सूचना र चिन्हका बारेमा राम्ररी पढेर र बुझेर मात्र पानीमा पस्नुहोला ।

३ पानीमा पस्नु भन्दा अघि लाइफगार्ड र लाइफ सेभरहरुसँग सुरक्षा सम्बन्धी आवश्यक परामर्श लिनुहोला ।

४ साथीसँग मात्र पौडी खेल्नुहोला । पानीमा एक्लै पस्नु वा पौडनु भन्दा साथी लिएर मात्र पौडिनु बुद्धिमानी मानिन्छ । अझ बालबालिकाहरुलाई त एक्लै कहिल्यै पानीमा पस्न नदिनुहोला ।

५ केही गरि पानीमा डुबिहाले नआत्तिनुहोला । बरु टाउको भन्दा माथि हात उठाएर लाइफगार्ड वा अरु व्यक्तिको ध्यान तान्ने कोशिस गर्नुहोला ।

६ मद्यपान वा कुनै औषधि सेवन गर्नुभएको छ भने पानीमा पस्दै नपस्नुहोला ।

७ पौडिन पानीमा पस्दा सन ग्लास अनिवार्य लगाउनुहोला । साथै पानी निल्नबाट जोगिनुहोला ।

८ लोकल मौसम पूर्वानुमान शाखाले गरेको मौसमको भविष्यवाणीलाई अवश्य मान्नुहोला ।

९ यदि कुनै व्यक्ति डुबिरहेको देख्नुभयो र तपाई सहयोग गर्न असमर्थ हुनुहुन्छ भने ट्रिपर जेरो नम्बरमा इमर्जेन्सी खबर गरिदिनुहोला ।

Comments

comments