मेलबर्न । अष्ट्रेलियाको मेलबर्न सहर अहिले सप्ताहमय बनेको छ । नेपाली समुदाय अहिले पण्डित दिनबन्धु पोखरेलको कथावाचन सुन्न र सामुदायिक भवन निर्माणको लागि दान गर्न दैनिक रुपमा उत्साहका साथ सप्ताहमा सहभागी भइरहेका देखिन्छन् । गत सोमबारदेखि सुरु भएको सप्ताहको आज चौथो दिन हो ।

सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन सहयोग रकम संकलन गरिने लक्ष्य लिइएको यो सप्ताहमा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले एक लाख डलर सहयोग गर्ने घोषणा गर्नु भएको छ। यसअघि योञ्जनले प्रतिबद्दता गर्नु भएको ५० हजार डलरलाई बढाएर एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको हो । सामूदायिक केन्द्र बनाउनका लागि मेलबर्नमा आयोजना गरिएको सप्ताहको तेश्रो दिन उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

सप्ताह आयोजक समितिका अध्यक्ष डा.चन्द्र दीपक पोखरेलले सप्ताहमा तेस्रो दिनसम्ममा २ लाख भन्दा बढि सहयोग रकमको प्रतिबद्दता आइसकेको र बाँकी दिनमा यस्तै धेरै मनकारी र परोपकारीहरुको सहयोग अनि सद्भावले मेलबर्नवासी नेपालीको सपना साकार हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यका साथ सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गरेको हो। सप्ताह आगामी डिसेम्बर २४ तारिखसम्म चल्नेछ ।

Comments

comments