मेलबर्न । नेपालबाट अष्ट्रेलियामा आएर पढिरहेका विद्यार्थीहरुसंग हामीले स्टुडेन्ट टक स्तम्भ अन्तर्गत कुराकानी गर्ने गर्छौं । यसपटक हामीले गोरखाबाट पढाइको लागि अष्ट्रेलिया आएका कुशल दवाडीसंग कुराकानी गरेका छौं । उनी अहिले सेन्टर क्विन्सल्याण्डमा एम.पी.ए अध्ययन गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ?

मेरो घर गोरखा जिल्लाको सिम्जुंग गाउँमा पर्छ ।

अष्ट्रेलिया कहिले आउनुभयो ?

६ महिना अगाडी आएको हूँ ।

अष्ट्रेलियालाई नै आफ्नो पढाइको गन्तव्य बनाउनुको कारण ?

मूख्य कारण त विश्वस्तरीय शिक्षा नै हो ।

कुन युनिभर्सिटिमा कुन विषय पढ्दै हुनुहुन्छ ?

सेन्टर क्विन्सल्याण्डमा एम.पी.ए पढ्दैछु ।

युनिभर्सिटी कसरि छान्नुभयो ?

मैले सस्तो र राम्रो पढाइ हुने युनिभर्सिटी खोजेको थिएँ। त्यसकै आधारमा आफूले बुझें र अरुको पनि सल्लाह लिएँ ।

यो विषय आफ्नो केही लक्ष्यले रोज्नुभयो की परिवारको सल्लाह वा दबाबमा ?

परिवारसंगको सल्लाहमा रोजेको हूँ ।

सुरुमा अष्ट्रेलिया आउँदाको अनुभव ?

उत्साहित थिएँ र दाइहरु यतै भएकोले खासै गाह्रो पनि भएन ।

युनिभर्सिटीमा नेपाली विद्यार्थीको लागि कत्तिको सहज वातावरण पाउनुभयो ?

नयाँ परिवेश र नयाँ व्यक्तिहरुसंग घुलमिल हुन सक्ने व्यक्तिलाई सजिलो हुन्छ। साथीहरुसंग परिचय गर्ने, बोल्न खोज्ने गर्नुपर्छ ।

विद्यार्थी जीवनमा प्रेमजीवनमा प्रवेश गर्नु कत्तिको उचित हो जस्तो लाग्छ ? तपाईंको प्रेम अनुभव ?

विद्यार्थी जीवन करियर बनाउने महत्वपूर्ण समय भएकोले, यो समयमा प्रेमजीवनमा प्रवेश गर्नु उचित लाग्दैन । त्यसैले आफ्नो अनुभव पनि छैन।

कक्षामा कत्तिको निन्द्रा लाग्छ ?

थाकेको समयमा, कहिलेकाहीं लाग्छ।

पढाइ र कामको लागि कसरि समय मिलाउनुहुन्छ ?

कलेजको बिदाको दिनमा काम गर्ने र प्रत्येक सेमेस्टरको भर्नाको आधारमा कामको लागि समय मिलाउनुपर्छ ।

सुरुमा काम खोज्दा कत्तिको गाह्रो भयो ?

आफन्त र चिनजानको मान्छेहरु यतै भएकोले मलाई काम खोज्न धेरै गाह्रो चाहिं भएन ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अहिले यहाँ भोगेको अष्ट्रेलियामा केही फरक ?

नेपालमा बसेर यहाँको बारेमा सोंच्दा सजिलै सबै कुरा हासिल गर्न सकिन्छ जस्तो लाग्छ । यहाँ संघर्ष छ , तर संघर्ष गरेअनुसार करियर पनि बन्छ ।

अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष र सबैभन्दा नराम्रो पक्ष ?

अष्ट्रेलियामा अवसर र सुविधा छ। नराम्रो पक्ष भनेको, काम र कलेज गर्दा आराम र फुर्सद हुँदैन।

कस्तोबेला अष्ट्रेलियाको बसाइ देखि खुशी लाग्छ र कस्तोबेला दिक्क लाग्छ ?

अवसरहरु देख्दा र साथीभाइबीच भेटघाट हुँदा खुशी लाग्छ । र, जतिबेला पनि व्यस्त भइरहंदा दिक्क लाग्छ।

पढाइ सकेपछि अष्ट्रेलिया बस्नुहुन्छ वा नेपाल फर्किने विचार छ ?

त्यो अब पढाइसक्दा सम्मको समयमा भर पर्छ ।

अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

राम्रोसंग सबै कुरा बुझ्नुहोस् । आफ्नो विषय र विषय अन्तर्गत करियरको अवसर बारेमा, त्यो विषय पढाइ हुने राम्रो शैक्षिक संस्थाको बारेमा सबै जानकारी लिनुहोस् । करियर बनाउनको लागि संघर्ष गर्न तयार छु भन्ने मानसिकता बनाएर आउनुहोस् ।

नेपालमा रहेका परिवार, नातेदार वा साथीभाइलाई के भन्न चाहनुहुन्छ ?

मलाई यहाँसम्म पुर्याउने मेरो परिवारप्रति कृतज्ञ छु । भविष्य बनाउनको लागि मैले सक्दो मेहनत गरिरहेको छु ।

Comments

comments