मेलबर्न । पछिल्लो समय अष्ट्रेलियाका विभिन्न क्षेत्रहरुमा लुटेराहरुको विगविगी बढेको छ । समूहगत रुपमै सक्रिय ती लुटेराहरुले फिल्मी शैलीलाई अपनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

विशेष गरी लुटेराहरुले महिला कार चालकहरुलाई निशाना बनाउँने गरेका छन् । त्यस्ता लुटेराहरु शहर र मानव वस्तीभन्दा अलि परका क्षेत्रहरुमा अझ बढी सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती लुटेराहरुले कारचालक महिलाहरुलाई पहिले भ्रमित बनाई कारबाट बाहिर ओर्लन लगाउँने र त्यही मौकामा लुट्ने गरेका छन् । त्यसैले राजमार्ग वा सुनसान क्षेत्रमा गाडी हाँकेर कतै जानुपरे जस्तोसुकै अवस्थामा पनि गाडी नरोक्न र नओर्लन महिला चालकहरुलाई प्रहरीले सुझाव दिएको छ । केही समय अघि घटेको एउटा घट्नाले पनि प्रहरी यो कदममा पुगेको हो । प्रहरीका अनुसार एक महिला आफ्नो कार चलाउँदै आफ्नो घरतर्फ लाग्दै थिईन् । अलि सुनसान राजमार्गको क्षेत्रमा सडकमा एउटा ब्ल्यांङ्केटमा बेरिएको बच्चा जस्तै देखिन् । के होला भन्ने उत्सुकताले उनले गाडी रोकिन । तर जसै उनी गाडी रोकेर उक्त ब्ल्याङ्केटतर्फ अघि बढिन् अचानक केही लुटेराहरु आएर उनलाई छोपिहाले र उनीसँग भएका सबै पैसा,गहना लुटेर पलभरमै फरार भए ।

यसरी फिल्मीशैलीमै लुटपाटका घट्नाहरु बढ्न थालेपछि त्यस्ता लुटेराहरुले महिलाहरुमा हुने बढी उत्सुकता र घमण्डीपनको मनोविज्ञानलाई कमजोरी बनाएर लुट्ने गरेको निष्कर्षमा प्रहरी पुगेको छ । त्यसैले अष्ट्रेलियाका महानगरीय प्रहरी कार्यालयहरुले विज्ञप्ति नै जारी गरेर त्यस्ता लुटेराहरुको जालबाट बच्न विशेष गरी महिला कार चालकहरुलाई सचेत गराएको छ ।

बाटोमा आफ्नो सवारी साधानमा कतै गइरहँदा जे देखेपनि गाडी नरोक्न र गाडीबाट नओर्लन प्रहरीले सुझाव दिएको छ । त्यस्तो कुनै वस्तु देखिए गाडीको गति समेत कम गर्नुहुन्न । एक प्रहरी अधिृतको सुझाव छ–बरु तुरुन्त ९–९–९ मा डायल गरेर प्रहरीलाई खबर गरिदिनुपर्छ ।

अझ साँझको बेला हो भने तपाईको गाडीको अगाडिको शिशामा लाग्ने गरी कसैले अण्डा प्रहार गरिदिन सक्छन् । किनभने अहिले गाडीमा अण्डाले हान्ने समूहरु पनि अष्ट्रेलियामा थुप्रै देखिन थालेका छन् । यदि कसैले गाडीमा अण्डाले हानेर फुट्यो भने पनि गाडी रोकेर कसले हिर्कायो भनेर हेर्नेतिर लाग्नुहुँदैन । अनि फुटेको अण्डा सफा गर्न गाडीको वाइपर पनि चलाउँनुहुन्न । किनभने वाइपरको पानीले अण्डा पखालिदैन । उल्टै शिशामा लत्पतिन्छ र धमिलो भएर गाडी हाँक्न असजिलो बनाइदिन्छ । अनि लुटेराहरुले त्यो मौका छोप्न सकिन्छ । अण्डामा पानी मिसिदा दूधिलोपन बढ्छ,त्यसले झण्डै ९२.५ प्रतिशत सम्म दृश्य शक्ति रोकिदिन्छ ।

यो टेक्निक अहिले धेरै लुटेरा ग्याङहरुले प्रयोग गर्ने गरेको पाइएकोछ । त्यसैले यसतर्फ सचेत रहेर लुटिनबाट बच्न प्रहरीले अनुरोध गरेको छ ।

File Photo

Comments

comments