एजेन्सी । अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार झण्डै १० घण्टा विद्युत आपूर्ति बन्द भएको छ ।

विद्युत आपूर्ति कटेपछि विमानस्थल आशिंक रुपमा बन्द भयो । त्यसबाट एक हजार भन्दा बढी उडानहरु रद्द भएको अन्तराष्ट्र्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

विश्वकै सबैभन्दा व्यस्त विमानस्थलबाट दैनिक अढाई लाखभन्दा बढी यात्रु ओहोर दोहोर गर्छन् । विमानस्थलबाट दैनिक करिब २५ सय उडान हुन्छ । बिजुली गएपछि यात्रुहरु अन्धकारमा नै टर्मिनलमा बस्न बाध्य भएका थिए । विमानस्थलबाट उड्न ठिक्क परेका विमानहरु रोकिएका थिए । करिब १० घण्टापछि विमानस्थलमा विद्युत आपूर्ति शुरु भएको छ । सोमबार थप सयौं उडानहरु रद्द हुनसक्ने बताइएको छ ।

विजुली आपूर्ति बन्द भएपछि विमानस्थलमा अवतरणका लागि पूर्व निर्धारित कैयौँ उडानहरु अन्यत्रै प्रस्थान गरेका थिए । विमानस्थलले १० घण्टा भन्दा बढी विद्युत आपूर्ति कटौति भएको पुष्टि गरेको छ । भूमिगत विद्युत केन्द्रमा भएको आगलागीले गर्दा विद्युत आपूर्ति बन्द भएकोे विमानस्थल विद्युत आपूर्ति सेवा उपलब्ध गराइरहेको कम्पनी जोर्जिया पावरले जनाएको छ ।

Comments

comments