मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिइएको छ। सप्ताह पुराण आयोजनाका लागि एनआरएनए अष्ट्रेलिया, न्याभ, महावाणिज्यदुतको कार्यालय लगायत नेपाली समुदायका संघ संस्थाहरुले एएनएमसीलाई सहयोग गरिरहेका छन् ।

सामुदायिक भवन निर्माण अभियान तथा महासप्ताहलाई भव्य रुपमा सफल पार्नको लागि आफ्नो तर्फबाट योगदान गरिरहनुभएका चितवन समाज भिक्टोरियाका अध्यक्ष तथा समाजसेवी सोम प्रसाद गुरुङ भन्नुहुन्छ, ” सामुदायिक भवन मेलबर्नमा रहने सम्पूर्ण नेपालीहरुको घर हो र सप्ताह हाम्रो नेपाली संस्कृति दर्शाउने माध्यम पनि हो । त्यसैले सबै मिलेर सप्ताहलाई भव्य रुपमा सफल पारौं। आफूले जति सकिन्छ, त्यति समय दिउँ । आर्थिक वा शारीरिक परिश्रमको सहयोग, जे सकिन्छ त्यहि गरौँ, सबैजना सहभागी बनौं।”

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह यही १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments