मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा यतिबेला सप्ताहको रौनक छाएको छ । धार्मिक तथा आध्यात्मिक कार्यलाई सामजिक उद्देश्य दिंदै यसलाई सफल बनाउनको लागि नेपाली समुदाय अहिले सक्रिय रुपमा अगाडी बढिरहेको छ ।

आगामी १८ तारिख देखि २४ तारिख सम्म हुने सप्ताहमा पण्डित दिनबन्धु पोखरेलद्वारा कथा वाचन समेत हुनेछ। सामुदायिक भवन निर्माणको लागि सहयोग रकम संकलन मूख्य उद्देश्य रहेको यो सप्ताहलाई सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले आयोजना गरेको हो। सप्ताहलाई भव्य रुपमा सफल बनाउनको लागि सप्ताह मूल आयोजक समितीको गठन गरि सबै संघसंस्था तथा सामाजिक अगुवाहरुको सहयोगमा एएनएमसी द्रुत गतीमा लागिरहेको छ ।

यसै सन्दर्भमा हिमालयन कंगारुसंग कुरा गर्दै सप्ताह मूल आयोजक समितीका सदस्य नारायण काफ्ले भन्नुहुन्छ, ” यो सप्ताह संस्कृतिको सम्बर्द्धन साथै सामुदायिक भवन निर्माणको लागि त महत्वपूर्ण छँदै छ, यसले मेलबर्नमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउने विश्वास पनि हामीले लिएका छौं । सामजिक संजाल, वेबसाइट मार्फत हामीले चलाएको अभियानमा मेलबर्नवासीहरुको उत्साह देख्दा सप्ताह भव्य रुपमा सफल हुने देखिन्छ । यो उत्साहलाई लिएर सप्ताहमा उपस्थित भइदिन म सम्पूर्ण मेलबर्नवासी नेपालीहरुलाई अनुरोध गर्न चाहन्छु । सक्ने आजीवन सदस्य बनौँ, आजीवन सदस्य बन्न नसक्नेले स्व:इच्छाले दान गरौँ, दान गर्न नसक्ने सहभागी भएर सहयोग गरौँ । ” उहाँले थप्नुभयो, ” यो काम नेपालको पहिचान दिर्घकाल सम्म राखिराख्नको लागि सुरु गरिएको र यसले पर्यटनमा समेत सहयोग पुग्ने हुनाले हामीले यस कार्यमा नेपाल सरकार, नेपाली राजदुतावास लगायतबाट पनि सहयोगको अपेक्षा राखेका छौं ।”

माता चिन्तापूर्णि हिन्दु मन्दिर, १९१ William St . St Albans मा हुने यस महासप्ताहमा आउनको लागि यातायातको सहज व्यवस्था रहेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार, सप्ताह स्थल ट्रेन स्टेसन देखि नजिक रहेकोले हिंडेर नै पुग्न सकिन्छ भने अशक्तहरुको लागि स्टेसन देखि सप्ताह स्थल सम्म आयोजकले गाडीको व्यवस्था गरेका छन् । सप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम संकलन गर्ने लक्ष्य रखिएको छ।

Comments

comments