काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै तत्काल नेतृत्व परिवर्तन नहुने बताए ।

उनले भने,‘अहिले कसैले पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँहरुलाई पनि छैन, प्रचार प्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जिम्मा त लिन्छु, अब केन्द्रीय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं ।’

उनले विशेष महाधिवेशन बोलाएपनि नबोलाएपनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे । उनले थपे,‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु ।’ खाँणले पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरू लाग्ने विश्वास दिलाए ।

महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रूपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पुनः स्टे«न्थ प्रदानगर्न एकजुट भएर लाग्नुपर्ने अभिव्यक्ति दिएकाले सबैको ध्यान एकजुट भएर अघि बढ्ने नै रहेको उनले बताए ।

उनले पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीयदलको नेताबन्ने स्पष्ट पारे । ‘उहाँले चाहनुभयो भने संसदीयदलको नेता आँफै बन्नुहुन्छ’, उनले थपे ।’ पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । खाँणले भने, ‘पार्टीमा कुनै मतान्तर छैन, नेतृत्व परिवर्तनको कुनै एजेन्डा नै छैन, केन्द्रीय समितिको बैठकमा छलफल भए पनि यसबारेमा कुनै बबण्डर हुँदैन ।’

उनले पार्टी भित्र आफ्नो कुरा राख्ने छुट सबैमा भएको समेत स्पष्ट पारे । उनले पार्टी सभापति देउवालाई थप बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरू एकजुट हुनुपर्नेमाजोड दिए ।

‘पार्टीलाई एक ढिक्का बनाएर चलाउनको लागि र यसलाई आत्मबलप्रदानगर्न खास गरी उभार्नको लागि सबै मिलेर जानुपर्छ, पार्टी सभापतिलाई सहयोग पुरयाउनुपर्छ’–उनले थपे ।

उनले निर्वाचनमा सम्पन्नगर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आममतदाता, नेपाल सरकार, प्रधानमन्त्री देउवा, निर्वाचन आयोगका पदाधिकारीहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय सबैलाई विशेष धन्यवाद समेत दिए ।

असहजताका बावजुद चुनाव सम्पन्न भएको उल्लेख गर्दै खाँणले भने,‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले समयमै निर्वाचन सम्पन्न गर्‍यो, काँग्रेसले अस्वभाविक परिणाम भोगेको छ, हामीले महामानव वीपीले देखेको सपना झन्डै ७० वर्षपछि संविधान सभाबाट संविधानजारी गर्‍यौँ, काँग्रेसले सबै दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर नै यो सम्भव भएको थियो, अहिले हामी संविधान कार्यान्वयनको चरणमा छाै ।’

मुलकुमा शान्ति, समृद्धि र स्थायित्वको लागि निर्वाचन महत्पूर्ण खुड्किलो भएकोले जनताले लोकतान्त्रिक शक्तिलाई विजयी गराउँछन् भन्नेमा ढुक्क रहेको भए पनि आफूहरूले गरेका कामहरू जनतासामू सही ढङ्गले सम्प्रेषण गर्न चुकेर निर्वाचनमा सोचेजस्तो भनेजस्तो परिणाम ल्याउन नसकेको उनले बताए ।

उनले भने,‘हामीले गरेका कामहरू जनताबीच पुर्‍याउन कमी कमजोरी भयो, एमाले र माओवादी केन्द्रबीचको मत आदान प्रदानमा कुनै समस्या देखिएन, उनीहरूले चुनावी तालमेल मात्रै नभएर पार्टी एकताको घोषण समेत गरेकाले परिणाममा असर परेको हो ।’

पार्टीले प्रत्यक्षतर्फ राम्रो नतिजा ल्याउन नसकेपनि समानुपातिक तर्फ भने मत विगतको भन्दा बढेको उनले बताए । खाँणले थपे,‘पहिले हाम्रो मत ३२.८ प्रतिशत थियो, अहिले बढेर ३४.४ प्रतिशत पुगेको छ, माओवादीको १७ बाट घटेर १४.३ प्रतिशत छ, एमालेको ३३ बाट बढेर ३६ प्रतिशत छ ।’

Comments

comments