मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिइएको छ। सप्ताह पुराण आयोजनाका लागि एनआरएनए अष्ट्रेलिया, न्याभ, महावाणिज्यदुतको कार्यालय लगायत नेपाली समुदायका संघ संस्थाहरुले एएनएमसीलाई सहयोग गरिरहेका छन् ।

सामुदायिक भवन निर्माण अभियान तथा महासप्ताहलाई भव्य रुपमा सफल पार्नको लागि आफ्नो तर्फबाट सक्रिय भूमिका खेलिरहनुभएका, एनआरएनए भिक्टोरियाका सह-सचिव प्रेम प्रसाद कंडेल भन्नुहुन्छ, ” महासप्ताह र नेपाली पहिचान सहितको सामुदायिक भवन, दुवै नेपाली कला संस्कृति संरक्षणका पाटो हुन् । र, आफ्नै सामुदायिक भवन विदेशमा बस्ने नेपालीहरुको लागि आवशयकता पनि हो । त्यसैले भिक्टोरियामा सामुदायिक निर्माण गर्ने यो अभियानमा जुटौं र अष्ट्रेलिया अरु सबै राज्यमा समेत सामुदायिक भवन निर्माण गर्ने अभियान थालौं ।”

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments