काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धनदेखि पार्टी एकताका लागि मूख्य पहलकर्ता मध्येका बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पराजित भएका छन् ।

गौतम र श्रेष्ठ दुवैले शीर्ष नेतालाई बारम्बार सम्बाद र दबाव सिर्जना गरेका थिए । गौतम माओवादी शान्ति प्रक्रियामा आएदेखि नै पार्टी एकताका लागि पहल गरे ।

तर, गौतमको प्रयास शीर्ष नेताहरुबीच सार्थक सम्वादको अभावमा असफल हुँदै आएको थियो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले र माओवादीबीच ६०-४० को भागबन्डा गर्ने गौतमको प्रयास थियो ।

यसबीचमा राष्ट्रिय राजनीति थुप्रै पटक उतारचढाव आयो । एमाले र माओवादीको दूरी टाढा र नजिक भइरह्यो । तर, गत असोजमा भने गौतमले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फेरि यही प्रस्ताव राखे । एमालेबाट गौतम र माओवादीबाट श्रेष्ठको अगुवाईमा दुई दलबीच निर्वाचन गठबन्धन हुन सक्यो ।

गौतम र श्रेष्ठकै अगुवाइमा पार्टी एकताका लागि संयुक्त विधान लेखनको काम भइरहेको छ । गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग ७७५ मतले पराजित भए । श्रेष्ठ भने बाबुराम भट्टराईसँग गोरखा–२ बाट ७ हजार मतले पराजित भएका थिए ।

Comments

comments