काठमाडौैं । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषा–३ मा अप्रत्यासीत सहमति भएको छ ।

मतदान सुरु हुनुभन्दा १२ घण्टा अगाडी वाम गठबन्धनले आफ्नो समर्थन राजपाका उम्मेदवार राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

धनुषा–३ बाट वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवलाई मधेसी गठबन्धनका उम्मेदवार राजेन्द्र महतोको पक्षमा लाग्ने र आफ्ना कार्यकर्ताहरुलाई प्रतिनिधि सभामा मधेसी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

बुधबार राति जनकपुरमा भएको दुवै पक्षको बैठकमा भएको सहमति अनुसार उक्त निर्देशन जारी भएको हो । जनकपुरमा राजपाको तर्फबाट मेयर लालकिशोर साह र वाम गठबन्धनका उम्मेदवार माओवादी नेता रामसिंह यादवबीच भएको दुई घण्टा लामो बैठकपछि वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गर्ने सहमति जनाएका थिए ।

स्थानिय स्तरमा सहमति भएपछि काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठकले धनुषा–३ को प्रतिनिधि सभाका लागि मधेसी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारी भएको हो ।

जारी विज्ञप्तिमा मधेसी जनताको हक अधिकारको लागि निरन्तर संघर्ष गर्ने र देशको एक परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकामा रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई समर्थन गर्न आफ्ना समस्त कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

नेकपा एमालेले पनि आन्तरिक सर्कुलर जारी गर्दै परिवर्तनका संवाहक, मधेस आन्दोलनका अगुवा नेता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पक्षमा मतदान गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

Comments

comments