काठमाडौं । सर्लाही–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

आयोगको निर्णय सदर भएसँगै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्। उनको उम्मेदवारीलाई लिएर बुधबार सर्वोच्चमा छलफल भएको थियो।

आयोग र निवेदक यादवको सुनुवाइपछि न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय दिएको हो।

यादवले उम्मेदवार हुन नपाउने भएपछि उक्त क्षेत्रमा वाम गठबन्धनको उम्मेदवारी रिक्त भएको छ। ‘विवादित विषयको अन्तिम सुनुवाइ हुँदा निरुपण हुने, भन्दै सर्वोच्चले तत्काललाई आयोगको निर्णय रोक्नु नपर्ने आदेश दिएको हो।

विशेष अदालतले यादव सभासद् रहेका बेला कूटनीतिक राहदानी हेरफेर गरी अनधिकृत रूपमा अर्को व्यक्तिलाई विदेश पठाएको अभियोगमा सजाय ठहर गरेको थियो। विशेषबाट यादवलाई कूटनीतिक राहदानी दुरुपयोग अभियोगमा चार महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ। विशेषको फैसलाविरुद्ध यादवले सर्वोच्चमै पुनरावेदन दिएका छन्।

Comments

comments