काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतादान सुरु भएको छ । देशका पहाडी तथा तराईका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।

यी निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदानकेन्द्रमार्फत् बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख,
कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुँदै छ ।

मतदानको लागि सुरक्षा नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको तीन वटा छुटा छुटै सुरक्षा घेराले मतदान स्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्ने छन्।

बिहीबार हुने मतदानमा १५२ जना तेस्रो लिंगी सहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाताले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता रहेका छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबै भन्दा धेरै मतदाता मोरङमा छन भने सबै भन्दा कम तेह्रथुममा रहेका छन्। मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता रहेका छन् भने तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्।

निर्वाचनमा प्रतिनिधिसभा तर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागि छन् भने समानुपातिक तर्फ ५३ दलको प्रनिनिधित्व छ। संघीयता कार्यान्वयनका लागि मुलुकमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भइसकेको छ।

Comments

comments