मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिइएको छ। एएनएमसीको संस्थापक कोषाध्यक्ष तथा हालको कार्यसमितिमा समेत कोषाध्यक्ष रहनुभएका राजेश आचार्य भन्नुहुन्छ, ” सामुदायिक भवन निर्माणको लागि सहयोग रकम संकलन गर्न, हामीले पहिले देखि नै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका थियौं। ती कार्यक्रम तथा सदस्यताको पैसाले भवन निर्माणमा सघाउ हुने हामीले आशा राखेका थियौं। तर, भवन निर्माणको लागि ठूलो रकम चाहिने हुँदा त्यो रकम अपुग भयो । धार्मिक र सांस्कृतिक प्रबर्द्धन पनि हुने र सहयोग रकम संकलन गर्न पनि सजिलो हुने सोंचेर हामीले महासप्ताहको आयोजना गरेका हौँ ।”

पेशाले चार्टर्ड अकाउनटेन्ट समेत रहनुभएका आचार्यले सप्ताहमा गरिएको दानले मात्र नभएर आजीवन सदस्यताले लक्षित रकम संकलन हुनसक्ने बताउनुभयो। उहाँले मेलबर्नको सम्पूर्ण नेपाली समुदायलाई महासप्ताहमा सहभागी भएर आजीवन सदस्य बन्न अनुरोध समेत गर्नुभयो । उहाँले थप्नुभयो, ” सबै मिलेर सामुदायिक भवन निर्माण गर्न सक्यौं भने, सम्पूर्ण नेपालीको लागि गौरव हुनेछ । र, यो हाम्रो समुदाय, आगामी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी पनि हो ।”

सप्ताह पुराण आयोजनाका लागि एनआरएनए अष्ट्रेलिया, न्याभ, महावाणिज्यदुतको कार्यालय लगायत नेपाली समुदायका संघ संस्थाहरुले एएनएमसीलाई सहयोग गरिरहेका छन् । पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments