महोत्तरी । महोत्तरीको गौशालामा संघीय समाजवादी फोरमका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

मंगलबार राति १२ बजेतिर गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका भतिजा प्रमोदले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतोका भतिजा सचिव महतोलाई देखाएर पिसाब फेरेको निहुँमा भनाभन भएपछि झडप भएको हो ।

झडपका क्रममा छुरा प्रहारबाट वाम गठबन्धनका कार्यकर्ता प्रमोदकुमार महतो गम्भीर घाइते भएका छन् । घाइते महतोलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिनुभयो ।

शिवनाथ महतोले माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् भने लक्ष्मी महतो संघीय समाजवादी फोरमका तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूहरूमाथि छुरा प्रहार गर्न खोजको उम्मेदवार महतोले दाबी गरेका छन्।

घटनाका सम्बन्धमा वाम गठबन्धनले भने बुधबार गौशालामा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ ।

Comments

comments