मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा, अष्ट्रेलिया र नेपाल बीचको सम्बन्ध पनि नजिकिन थालेको छ। अष्ट्रेलियाको लागि नेपाली राजदुतको नियुक्ति पछि यो सम्बन्ध अझ प्रभावकारी ढंगले अगाडी बढीरहेको छ ।

सम्बन्ध विस्तारसंगै आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरुमा एक-अर्काले सहयोग गर्ने योजनाहरु पनि अगाडी बढिरहेका छन् । यसैक्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण अष्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट पर्यटनमन्त्री तथा नेपाल पर्यटन बोर्डको टोली अष्ट्रेलिया आएको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड र अवैतनिक वाणिज्य दूतावासको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अधिकांश विदेशीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको थियो । कार्यक्रममा नेपालका पर्यटनमन्त्री जीतेन्द्रनारायण देव, अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, माथिल्लो सदनका प्रमुख रसल वाट्ली, अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन उपाध्यक्ष अशोक केसी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष थापा लगायत व्यक्तिको सहभागिता थियो ।

नेपाली कलाकार आशिका राईलगायतले नेपाली कलासंस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरेका थिए । यसैगरी देवलगायतको टोलीसँग एनआरएनका प्रतिनिधिहरुले अलग्गै अन्तर्क्रिया समेत गरेका थिए ।

Comments

comments