भैरहवा । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ठेक्कापट्टा र भ्रष्टाचार गर्ने नेताहरुबाट देशको विकास हुन नसक्ने बताएका छन् ।

आइतबार भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले ठुला पार्टीहरुले सत्तामा हुँदा भ्रष्टाचार गर्ने र त्यही पैसा चुनावका बेला खोले बगाएर समृद्ध नेपालको सपना देखिरहेको आरोप लगाए ।

‘तपाईं हामी देख्न सक्छौं सधै सत्तामा बस्ने दल र तिनका नेताहरुले अहिले चुनावमा करोडौं रुपैयाँ खर्च गरिरहेका छन्’, भट्टराईले भने, ‘त्यो पैसा सत्तामा बस्ता गरेको भ्रष्टाचार, ठेक्कापट्टा हो, यस्तालाई जनताले दण्डित गर्नुपर्छ ।’

नयाँ शक्तिको नीति राष्ट्रपतीय प्रणालीसहित देशमा शान्ति, समृद्ध र सुशासन कायम गर्ने रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन भनेर काँग्रेस, एमाले र माओवादी केन्द्रले जनतालाई भ्रममा पार्न लागेको बताए । उनले सुशासन कायम गर्न नसक्ने पार्टीबाट विकासको सपना देख्न पनि नसकिने बताए ।

जसरी पनि यस पटक नयाँ शक्तिलाई राष्ट्रिय पार्टी बनाउनु पर्ने धारणा राख्दै भट्टराईले सुशासनसहितको विकसित देश बनाउन आफूहरुसँग मात्रै प्रष्ट योजना भएको बताए ।

आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा विकास, निर्माणमा थुप्रै काम गरेको बताउँदै भट्टराईले भैरहवालाई लुम्बिनीसँग जोडेर विकास गरे रुपन्देही एशियाकै सबैभन्दा विकसित मुलुक हुने बताए ।

‘रुपन्देही प¥याप्त सम्भावना बोकेको जिल्ला हो, यसलाई लुम्बिनीसँग जोडेर विकास गर्नु पर्छ’, उनले भने, ‘यहाँ बन्न लागेको एयरपोर्ट, भन्सार नाकालगायतले गर्दा पनि रुपन्देही विकासका दृष्टिले अग्रस्थानमा छ ।’

Comments

comments