मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिइएको छ। सप्ताह पुराण आयोजनाका लागि एनआरएनए अष्ट्रेलिया, न्याभ, महावाणिज्यदुतको कार्यालय लगायत नेपाली समुदायका संघ संस्थाहरुले एएनएमसीलाई सहयोग गरिरहेका छन् ।

सामुदायिक भवन निर्माण अभियान तथा महासप्ताहलाई भव्य रुपमा सफल पार्नको लागि आफ्नो तर्फबाट योगदान गरिरहनुभएका महावाणिज्यदुत चन्द्र योञ्जन भन्नुहुन्छ, ” मेलबर्नमा नेपालीहरुले आफ्नै भवन निर्माण गर्नको लागि यसरि जुटेर अगाडी बढ्नु, निकै नै सह्रानीय काम हो । हामीले केही कार्यक्रम गर्दा अहिले अरुको हललाई भाडामा लिएर गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि कहिलेकाहीं अनेक अवरोधको सामना गर्नुपर्छ। त्यसैले हामीलाई आफ्नै हलको अत्यन्तै खाँचो छ र त्यसमा पनि, आफ्नै पहिचान बोकेको हाम्रो आफ्नै हलमा कार्यक्रम गर्न पाउने क्षण गौरवमय हुनेछ।” उहाँले सामुदायिक भवनले नेपालीहरुको पहिचान समेत फैलने र नेपालीलाई एकताबद्ध गर्ने भएकाले महासप्ताहलाई सफल पार्न सबैजनाले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने महासप्ताह आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments