काठमाडौं । आइतवार हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउदै छन् ।

नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ ।

जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पुर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली र्याली सहितको कार्यक्रम गर्दैछ ।

आजै काठमाडौंका ज्यापू समुदायले १४ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौं नःबहाः ब्रम्ह टोलको दगू दाफा खलले सांस्कृतिक र्‌‍‌याली गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिने आयोजक ज्यापु संस्कृति विकास कोषले जनाएको छ । कोषले २०६० सालदेखि योमरी पुर्णिमाका दिन ज्यापू दिवस मनाउँदै आईएको हो ।

यसैगरी किरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

Comments

comments