मेलबर्न । अष्ट्रेलियाको मेलबर्न यतिबेला सप्ताहमय भएको छ । मेलबर्नमा पशुपतिनाथको मन्दिर र बौद्धनाथ संगै सामुदायिक भवन बनाउनको लागि सहयोग रकम संकलनको उद्देश्य सहित सप्ताह आयोजना गरिएको हो ।

सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी) र सामाजिक अगुवाहरु मिलेर सप्ताह पुराणको आयोजना गरेका छन् । एएनएमसीले सामुदायिक भवन निर्माणको लागि विगतमा गाला डिनर, च्यारिटी फन्ड लगाएत विभिन्न कार्यक्रमहरु गरेर रकम सङ्कलन गर्दै आएको थियो तर सामुदायीक भवन जस्तो ठुलो प्रोजेक्टको लागि त्यो रकमले नपुग्ने भएकोले समुदायमा रहेका बिभीन्न संघसंस्था, समूह लगायत स्पोर्ट्स क्लव र सबै नेपालीलाई एकताबद्ध गर्दै सप्ताह पुराण आयोजना गर्न लागेको हो।

सामुदायिक भवन निर्माणको उद्देश्य सहित गठन गरिएको एएनएमसीको संस्थापक अध्यक्षमा रन्जन वैद्य रहनुभएको थियो । उहाँको दुई वर्षको कार्यकाल सकिएर अहिले नयाँ नेतृत्व आइसकेको छ ।

आफ्नो कार्यकालमा समुदायको यो उद्देश्यको लागि प्रभावकारी काम गर्नुभएका रन्जन वैद्य भन्नुहुन्छ, ” यही सप्ताह आयोजना गर्नको लागि समेत हलको लागि हामीले अरुलाई गुहार्नुपर्ने अवस्था आयो र त्यसमा पनि कति झमेला सहनुपर्यो। यहींबाट प्रष्ट हुन्छ की, हामीलाई आफ्नै सामुदायिक भवनको कत्ति खाँचो छ। अर्को कुरा, पशुपतिनाथ र बौद्धनाथ मन्दिर सहितको विभिन्न सांस्कृतिक समूह र उत्सव मनाउन आफ्नै भवन हुने हुँदा, आउँदो पुस्तालाई आफ्नो संकृति र समुदायको जिम्मेवारी हस्तान्तरण गर्न सकिन्छ, उनीहरुले नेपाल चिन्नेछन्। हामीहरुलाई पनि उमेरसंगै बढ्ने धार्मिक कामको लगाव, अवकाश पछिको समय आदिको लागि यसको अत्यन्त खाँचो छ र हामीले आफ्नो नेपाली समुदायसंग सम्बन्ध कायम राखिराख्न पनि सामुदायिक भवनलाई माध्यम बनाउन सक्छौं।”

उहाँले केही व्यक्तिहरु मात्र मिलेर सामुदायिक भवन बनाउनुभन्दा सबै मिलेर बनाउँदा भवनप्रति अपनत्व बढ्ने र समुदायमा एकता तथा सद्भाव बढ्ने भएका कारण भवन निर्माणको उद्देश्य सहित हुन लागेको सप्ताहमा सबै वर्ग, क्षेत्रका नेपालीहरु एक जुट भएर लाग्नुपर्ने समेत बताउनुभयो।

पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने सप्ताह पुराण, आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुनेछ।

Comments

comments