मेलबर्न। अष्ट्रेलियाको मेलबर्न आएका नेपाली अभिभावकहरुको लागि आयोजित वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एनआरएन भिक्टोरियाका साथै नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको सहकार्यमा वनभोज आयोजना गरिएको हो ।

सयभन्दा बढी सहभागीहरु भएको कार्यक्रममा सहभागीहरुको सांस्कृतिक प्रस्तुतिले वनभोजको माहोल झन रमाइलो भएको थियो। वनभोजमा सहभागी अभिभावकहरुले आफ्नो देशदेखि टाढा रहंदा छरछिमेक र इष्टमित्रको न्यास्रो लागेको समयमा वनभोजले त्यो न्यास्रो केही कम गरिदिएको बताए । एकआपसमा परिचय र आत्मियता साटासाट गरिरहेका उनीहरुले वनभोजका आयोजकहरुलाई धन्यवाद समेत दिए ।

मेलबर्नको यान यिन रिजर्भमा आयोजना गरिएको वनभोज कार्यक्रममा संक्षिप्त औपचारिक कार्यक्रम समेत राखिएको थियो ।

जसमा, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, वनभोज कार्यक्रमका संयोजक गौतम लामिछानेले आफ्ना भनाइहरु राख्नुभएको थियो । यो वनभोज कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सबै वक्ताहरुको जोड थियो।

कार्यक्रममा ईभेन्ट पार्टनर ग्रेस एजुकेशनका रामचन्द्र पौडेल र बायर्स च्वाईसका सुरेन्द्र सेढाईसहित अन्य प्रायोजक र सहयोगीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

Comments

comments