काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज पहिलो चरणमा ३२ वटा जिल्लामा मतदान हुँदैछ । आजको निर्वाचनबाट ३२ जिल्लामा ३७ जनाप्रतिनिधि सभाका सदस्य छानिने छन् भने त्यसको दोब्बर संख्यामा प्रदेशसभाका सदस्यहरु चयन हुँदै छन् ।

देश संघीय स्वरुपमा गएपछि पहिलो पटक प्रदेशसभाको समेत निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचन अन्तर्गत विभिन्न दलका ठूला नेताहरुले पनि मतदान गर्दै छन् ।

बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् । उनले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा आफ्नो मत खसाल्दै छन् ।

नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ भट्टराईसँग चुनावी मैदानमा उत्रिएका छन् । उनले पनि आज गोरखामै मत खसाल्दै छन् । उनले सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रमा आफ्नो मत खसाल्ने छन् ।

जनार्दन शर्मा

शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । विना विभागीय मन्त्री शर्माले मुसिकोट नगरपालिकामा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । यमुनानन्दनमूना उमावि केन्द्रबाट उनले मत खसाल्दै छन् ।

योगेश भट्टराई

एमाले सचिव भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका लागि मैदानमा उत्रिएका छन् । उनले मैवाखोला गाउँपालिका–३ मा रहेको नारायणी उमावि केन्द्रमा मतदान गर्ने छन् ।

पशुपतिशमसेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धामा छन् । उनले सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा मतदान गर्ने छन् । राणा सिन्धुपाल्चोकको क्षेत्र नम्बर एकबाट चुनावी मैदानमा उत्रिएका छन् ।

चिनकाजी श्रेष्ठ

कांग्रेस नेता चिनकाजी श्रेष्ठले आज गोरखाबाट मतदान गर्दै छन् । उनी गोरखा एकबाट प्रतिनिधि सभा सदस्यका लागि मैदानमा उत्रिएका छन् । उनले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत खसाल्ने छन् ।

पृथ्वी सुब्बा गुरुङ

लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका गुरुङले पनि आजै मतदान गर्दैछन् । क्व्होलासोथार गाउँपालिका–९ का मतदाता रहेका उनले बुद्धोदय माविमा पुगेर मतदान गर्दै छन् । गुरुङलाई प्रदेश नम्बर ४ को मुख्य मन्त्रीको रुपमा समेत हेरिएको छ ।

Please follow and like us:

Comments