ishworp

-ईश्वर पोख्रेल (अविरल ) गायक

सिड्नी अस्ट्रेलिया

कलाक्षेत्रलाई अत्यन्त माया गर्ने मान्छे भएर होला बिगत केहि दिन यता गायीका अन्जु पन्तको बारेमा विभिन्न टिका टिप्पणीहरुले कताकता नरमाइलो महसुस भइरहेको छ |अन्जुका हजारौ लाखौ श्रोता सुभचिन्तक जस्तै म पनि एक हुँ र त्यसमा पनि गीतसंगीत कै सन्दर्भमा संगै काम गरेको हुनाले म जस्तोलाई अन्जु को प्रसङ्ग ले पिरोल्नु स्वाभाविक ठान्दछु |अन्जु ले हिन्दू भजन गाउदिन भनेकै कारण आज एकाएक चारैतिरबाट आलोचना खेपिरेहेकी छन्, घृणित भएकी छन् | हिन्दू धर्म त्यागीसकेपछि इसाई धर्मलाई सर्वोपरी ठानेकी अन्जुले के कारणले आफ्नो धर्म परिवर्तन गरिकी होलीन ? के धर्म परिवर्तन आफ्नै इच्छाले गरेकी हुन वा कसैले उक्साएर  गरेकी होलिन ? या हिन्दू धर्ममा उनले सुख शान्ति प्राप्त गरिनन् धॆरै बिकृति विसंगति देखिन होला ? यी यावत प्रश्नहरुले मलाई मात्र होइन उनका लाखौ सुभचिन्तकहरुमा पनि उब्जेका प्रश्नहरु हुन जुन अनुत्तरित छन् | यो बास्तबिकता स्वयं अन्जुलाई मात्र थाहा होला |

हुनत म पनि कुनै धर्मको गहिरो अध्ययन गरेको छैन, जाने त केवल अरुले भनेको सुनेर या आफ्नै समाज र परिवेशले अलि अलि सिकाएर जाने | कुनै पनि धर्मको गहिरो अध्ययन बिना नै हामी कसैको धर्मलाई राम्रो वा नराम्रो पक्कै भन्ने अधिकार छैन | म एक कलाकारको नाताले भन्न चाहन्छु अन्जु तिमीले यो सन्दर्भमा आफ्नो स्वतन्त्रताको प्रयोग गर्न पाउनु तिम्रो अधिकारको कुरो हो तर तिम्रो व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दा यदि कुनै धर्म, जातजाति वा समुदायमा असर पर्न जान्छ भने तिम्रो त्यहाँनिर स्वबिबेक प्रयोग नगरेको ठहरिन्छ | आफुले जुन धर्म अपनाय पनि अरुलाई निच देख्ने होच्याउने कुन धर्मले सिकाउछ ? सायद तिमी धर्मसंकटमा पनि परेकी हुन सक्छौ तिमीले हिन्दु भजन गायको भए सबै हामी हिन्दुहरु पक्कै खुशी हुने थियौ भने इसाई धर्मालम्बी बाट तिमी बहिस्कृत हुन पुग्थ्यौ होला | तिमीले गरेको त्यो निर्णयले तिम्रो इसाई धर्म प्रति समर्पण होला तर तिमीले हिन्दू देवी स्वरस्वती लाई सानैदेखि पुज्दै आयौ, उनैका राग गायौ अनि तिम्रा संगीतका गुरुलाई अपमान गरेको म लगायत हिन्दू धर्म मान्ने लाखौले आज ठुलो गुनासो गरेका छन् | एउटा ख्यातीप्राप्त कलाकारले कुनैपनि धर्म, जात भन्दा माथि उठ्न सक्नु पर्थ्यो  | तिमीले उक्त दशैं गीत गाउदिन भन्नुको कारण नै आज तिम्रा अरु गल्तीहरु खोतल्न थालियो र यसले ठुलो रुप लियो जुन तिमीले सपनामा पनि सोचेकी थिइनौ होला | तिमीले रुदै गरेको क्षमा याचनालाई मान्छेहरुले “गोहीको आँशु ” भनि संज्ञा दिए जब तिमी स्वयं हिन्दू अनि इस्लाम धर्मलाई होच्याई बोलेको भिडियो सार्वजनिक भयो जुन महिनौ पहिले युटुब मा राखियको रहेछ  | सायद तिमीले त्यो दशैंको गीत स्वीकारेको भए त्यो भिडीयो भेटिदैन थियो होला अनि कीर्तिपुरमा एक कार्यक्रममा ढुंगा खाएको प्रसङ्ग पनि आउदैनथियो होला | खैर तिमीले गरेको हिन्दू धर्म प्रतिको उपहास छताछुल्ल भएर पोखियो जुन उठाउन अलि समयनै लाग्ला किन कि बोली र गोली फुस्के पछि फुस्क्यो फुस्क्यो | हजारौ लाखौ श्रोता जसले तिमीलाई आँखाको नानीमा सजायका थिए त्यो नानीमा तिमी कसिंगर भएर बसेकी छौ अहिले |

त्यसो त अन्जु तिमीले गाएको तीजको भाकामा ‘म त नाचेँ’ , ‘तिम्रै लागि हो।’ आदि नेपाली हिन्दू नारीहरुको महान चाड तीज को गीत अघिल्ला बर्षहरुमा गाइसकेकी थियौ र तिम्रो अर्को भक्ति भजन ” दया गर माता” पनि युट्युब मै अत्याधिक मन पराइएका  गीत हुन् तर किन हो यी गीत संगीत यो अहिलेको भुमरीमा छायामा परे |

अब प्रसङ्ग बदलौ , तिमी कलाक्षेत्रकि चर्चित गायिका हौ भने नेपाली राजनीतिको अर्को चर्चित नाम हो कमरेड प्रचण्ड | कहाँ कला कहाँ राजनीति के कुरा गर्यो होला भन्ने ठान्यौ होला तर राजनीति पनि त कला हो, राजनीति मा कला भएन भने त्यो नेताको पनि पतन त हुन्छ नै | प्रचण्डपनि त महान कलाकार हुन नि, उनि पनि बेला बेला मा कम्ता आँशु झार्दैनन्  | बर्षौ पहिले उनले चितवन को बाँदरमुडेमा भएको घटनालाई प्रत्यक बर्ष श्रन्दाजली गर्दै “गोही को आशु ” झार्छन अनि जनतालाई सान्त्वना दिन्छन अनि बिर्सिदिन्छन | हाम्रो कमरेडले हजारौको काख रित्याय, कति टुहुरा भए कति बिदुर, बिदुवा अनि अंगभंग कति कति | उनलाई नचिन्ने को होला ? तिमी अन्जु भन्दा चर्चित …तर  जनता ले उनलाई गला भरि झन्डै मुन्टोभाँचिने  माला लगाई दिए त ..त्यति मात्रै हो र प्रधानमन्त्री पनि त भए  नि है |उनकै र्का चर्चित साथी बैद्य ले पनि त केहि महिना आघि बालकलाई बम द्वारा अंगभंग बनायाका थिए  नि है | अर्का महान नेता खुमबहादुर खड्का जसले करोडौ भ्रस्टाचार गरेर केहि महिना जेलमा आराम गरेपछि बाहिर निस्किदा कम्ता सम्मान पाएनन्  है | ठुलो ठुलो अपराध गर्ने, भ्रस्टाचार गर्नेलाई हामीले माफी दिएका छैनौ त ? पुर्वराजाहरु लाई बिष्णु भगवानको अवतार मानि पुज्ने हामी नेपाली ले राजाले गल्ती गरेपनि सर सम्मान स्थान दिएका छैनौ त ? आङ्कजि शेर्पा जस्ता व्यक्ति पनि छन् यो देश नेपालमा जो खुलेरै ४ जात ३६ बर्णको साझा फूल बारीलाई तहसनहस बनाउन बितृष्णा फैलाउन लागि परेका छन् अनि हिन्दु धर्मलाइ तथानाम गाली गरिरहेका छन् |

अब कुरा रह्यो तिम्रो अन्जु …तिमीलाई फेसबुक लगायत सामाजिक संजालमा प्रोयोग गरेका हदैसम्मका गाली र  अपमान का शब्दहरु प्रयोग गरेको देख्दा लाग्यो यो समाजमा मानबिय चेतना भनौ वा नैतिक शिक्षाको धॆरै कमी रहेछ | गल्ती तिम्रो भएको छ र गल्ती गर्नेले गाली अवस्य खेप्नु पर्छ तर आज सबैले तिमी नेपाली चेली हौ भन्ने बिर्सेका छन्, तिमीले नेपाली क्षेत्रलाई लगायका गुण सबै फिक्का भएका छन् |  तिमीलाई प्रोयोग भएका शब्दहरु हेर्दा लाग्दछ तिमीले मान्छे मार्नु भन्दा ठुलो अपराध गरेकी छौ | इतिहासले गल्ती गर्नेलाई माफ दिएको छ तर तिम्रो हकमा त्यति सहज क्षमा याचना होला जस्तो मलाई लाग्दैन किन कि तिमीले जघन्य अपराध गरेकी छौ किन कि तिमीलाई त कत्ति ले देश निकाला गर्नु पर्छ पनि भनेका छन् , तिम्रो स्वर नसुन्नेले  पनि भनेका छन् | अब तिमीले माफ पाउछौ कि पाउदैनौ त्यो बस समयले बताउने छ तर तिम्रो स्वर नहराओस भन्ने मेरो व्यक्तिगत चाहना पक्कै हो | र अन्त्यमा धर्म, जात अनि देश भन्दा पनि ठुलो कुरा मानबियता निभाउने धर्म हुन्छ जस्तो मलाई लाग्दछ | जय नेपाल

Comments