काठमाडौं। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइतवार हुँदैछ भने दोस्रो चरणको निर्वाचन आगामी २१ गते हुनेछ । स्थानीय निर्वाचनमा मतदान गर्न नजान्दा धेरै मत बदर भएका थिए । अहिलेको निर्वाचनको लागि मतदान प्रक्रिया यस्तो छ :

मत हाल्ने सही तरिका
यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्र छन् ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टा–छुट्टै रङका मतपत्र छन् ।

प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ ।  हरियो रङको मतपत्रमा हरियो रङका चुनाव चिह्न छन् ।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ ।

यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ ।  कालो रङको मतपत्रमा कालो रङकै चुनाव चिह्न छन् ।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ ।

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् ।  सेतो रङको पानामा चुनाव चिह्न रातो रङका हुनेछन् । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् ।  मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिनुपर्नेछ

यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ ।  उक्त भागमा पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् ।  एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।

यस्तो गरे मत बदर हुन्छ
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ ।  यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुन्छ । मत हाल्दा गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ ।  यस्तै मतदान अधिकृतको हस्ताक्षर (सही) नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ ।

तपाईं (मतदाता)ले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।

 

 

Comments

comments