-दीपेन्द्र दोङ तामाङ

किरण प्रधानले गीत गाउनकैलागि दार्जिलिङदेखि काठमाडौंसम्मको दुरी छिचोले । डा बनाउने बाबुको सपनालाई लत्याएर गीत गाउदै हिडिदिएकोमा उनले थुप्रैपटक गाली पनि खानुपर्यो । तर संगीतप्रतिको अद्भूत जुनुन र उनीभित्र निहीत प्रतिभाले उनले तत्कालीन समयका संगीतका महारथीहरु नातिकाजी र गोपाल योञ्जनसम्मलाई रिझाए । आफ्नो स्वरको जादूले लाखौं श्रोता दर्शकलाई आफ्नो प्रशंसक बनाए ।

तर त्यतिबेलै उनी यस्तरी अलप भैदिए,त्यसपछि नेपाली संगीत क्षेत्रमा उनी नोटिस हुने गरि कहिल्यै झुल्किएनन् । त्यसो त उनी देशको राजधानी काठमाडौंकै बासिन्दा बनेका छन् तर सयौं संख्यामा रहेका रेकर्डिङ स्टुडियोहरु उनकालागि टाढा लाग्दै गयो । गाउन भनेपछि महिहत्ते गर्ने किरणलाई पनि कहिले काहीं लाग्छ– के सोचें मैले के भयो अहिले ।

००००००

हुन त किरण विशुद्ध गायक हुन् । किनभने उनी श्रोता र दर्शकको मनछुने गीत गाउछन् । उनका पारखी श्रोता दर्शकहरु भन्छन्–किरणको स्वरमै जादू छ । शिक्षा क्षेत्रकालागि उनी आदरणीय किरण सर हुन् भने चलचित्र क्षेत्रमा नेपालमा पहिलो पटक भिडियो चलचित्र बनाउने उनी नै थिए ।

भूल हो तेरो,माया प्रीतिको चोखो कथा,के सोचे मैले के भयो अहिले..यी गीतहरु नेपाली गीत संगीत क्षेत्रका मखमली गीतहरु हुन् । र,यी गीतहरुका गायक उनै किरण हुन् ।

बुबा जगतनारायण प्रधान तथा आमा लक्ष्मी प्रधानका सुपत्र किरण प्रधानको जन्म विक्रम सम्वत २०१० साल श्रावन २८ गते दार्जिलिङमा भएको हो । सम्पन्न परिवारमा जन्मिएका उनको अधिकांश बाल्यकाल मामाघरमा नै बित्यो । यसैपनि मामाघर भन्नासाथ मायाको खानी त्यसमाथि झन उनका त ६,६ जना मामाहरु । मामाहरुको माया नै मायामा हुर्किएर होला उनी बाल्यकालमा साह्रै बदमास र छुकछुके स्वभावका थिए । बालसुलभ बदमासी गर्दै हुर्किएको आफ्नो बालापनलाई अहिले पनि खूब मिस हुने उनी बताउछन् ।

बाल्यकाल भनेकै यस्तै त हो,खेल सँगसँगै बिभिन्न बदमासी । तर स्वभावले जतिसुकै बदमास भएपनि पढाइमा भने किरण राम्रै विद्यार्थी थिए । उनका बुबा जगतनारायण शिक्षक थिए । बुबाको सपना छोरालाई डाक्टर बनाउने थियो । तर आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भने जस्तो बुबाको सपना छोरालाई डाक्टर बनाउने, यता छोराको रुची भने गीतसंगीततर्फ । सानै उमेरदेखि कतै गीत संगीत सुनियो कि खुट्टा हल्लाईहाल्ने स्वभावका थिए किरण ।

सानै उमेरदेखि गीतसंगीत मनपराउने उनी अलि ठूलो भएपछि तारादेवी,प्रेमध्वज प्रधान,बच्चुकैलाशका गीतहरु सुन्नुको साथै स्कूलमा साथीहरुको माझ टेबुल ठट्टाएर खूबै गाउथे । उनको गीत सुनेर मख्ख हुने साथीभाइहरुले तिम्रो स्वर धेरै राम्रो छ नेपाल गएर रेडियो नेपालमा गीत रेकर्ड गर्नुपर्छ भनेर खूब हौस्याउथे । नभन्दै अजींगरको आहारा दैवले पुर्याइदिन्छ भने जस्तै उनको बुबाको जागीर काठमाडौंमा सरुवा भयो । त्यसपछि बुवासँगै किरण पनि नेपाल अर्थात काठमाण्डौ आए ।

रेडियो नेपाल र नातिकाजीको त्यो अँगालो

बुबाको डाक्टर बनाउने सपना बोकेरै काठमाण्डौ आएका प्रधानपरिवारमा भित्र भित्रै गीतसंगीतको तरंग फैलदै गएको किरणका बुबा जगतनारायणलाई भने पटक्कै मनपरेको थिएन । तर लुकिछीपी नै भए पनि किरण गीतसंगीत तर्फ अझ ढल्कदै गए । कतै गीतसंगीतको कार्यक्रम हुने सुईको पाउने वित्तिकै हेर्न वा सके भाग लिन दौडिहाल्थे । यस्तैमा एकदिन काठमाण्डौमा गायन प्रतियोगिता हुदैछ भन्ने थाहा पाएपछि घरमा भन्दै नभनि उनले सुटुक्क भाग लिएर प्रथम हुन सफल भए ।

यसरी घरमा आमा बुबालाई भन्दै नभनि भाग लिएको प्रतियोगितामा प्रथम भई उनले ट्रफीसँगै ७०० रुपयाँ समेत जिते । आफूले पाएको विजयको खु्शीको खबर घरमा गएर बुबालाई सुनाउन त सुनाए उनले । तर बुबाले स्यावासी दिनु त कता हो कता उल्टै गाली गरे । भोलिपल्ट बुबाले नै गाउभरि मेरो छोराले पुरस्कार जितेर आयो भनेर सुनाउँदै हिडेपछि त किरणलाई के चाहियो ? गीत गाउन उनलाई थप हौसला मिल्यो । यसरी स्कुलको टेबुल ठट्टाएर गाउन शुरु गरेका उनको गायन यात्रा अन्तत रेडियो नेपालसम्म पुगेरै छाड्यो,जुन हरेक गायक गायिकाको गन्तव्य थियो ।

त्यतिबेलाका उनका साथी राजु तुलाधर अनि अनिल प्रधानको सल्लाहमा रेडियो नेपाल पुगेका उनले पहिलो पटक नै वरिष्ठ संगीतकार नातिकाजीको सामुन्ने गीत गाउनु परेको थियो । त्यसलाई उनी अविस्मरणीय पलका रुपमा अझै समझन्छन् । बिक्रम सम्बत २०२७ भदौमा रेडियो नेपालमा भ्वाईस टेष्टको लागि उनले आफनै गीत मलाई त मेरो डम्फुको ताल मनपर्छ गाएका थिए । पछि नातिकाजीले अर्काे गीत गाउन आग्रह गरेपछि उनले तारादेवीको कालिपारि दाइ कति राम्रो गीत गाए । उनले गीतको पहिलो अन्तरा मात्र के गाएका थिए बाहिरबाट नातिकाजीले भयो भयो भन्दै हात उठाएर रोकिदिए ।

यसरी नातिकाजीले गीत गाउदा गाउदै बीचैमा रोकिदिएपछि आफनो स्वर राम्रो नभएकोले गीत रोकिदिएको भन्ने उनलाई लाग्यो र मनमा चिसो पनि पस्यो । उनी सम्झन्छन्–’गाउँदा गाउँदै नातिदाइले त्यसरी बीचमै रोकिदिएपछि म त होपलेश भैहालें । ल आज त विग्रिहाल्यो भन्ने चिन्ता त थियो नै,त्यसमाथि नाति दाइले के भन्ने हुन् भन्ने डर पनि थियो मनमा । त्यसैले म डराइ डराइ स्टुडियोबाहिर निस्किएँ । नाति दाइको गाली खाने निश्चित थियो मनभित्र । तर जब म बाहिर निस्किएँ, नाति दाइले आएर अँगालो हाल्नु भयो र निकै राम्रो गाएको प्रतिक्रिया दिनुभयो । उहाँले त्यतिबेलै म भ्वाईस टेस्टमा पास भएको जानकारी समेत दिनुभयो । उहाँको कुरा सुनेर मलाई त संसार नै जिते जस्तो लाग्यो ।’

भ्वाईस टेस्ट सजिलै पास भएपनि गीत रेकर्ड गराउन भने उनले ७ महिना कुर्नुपर्यो । सपना देख्नुपर्छ एकदिन अवश्य पूरा हुन्छ । किरण प्रधानले दार्जिलिङमा छँदा नै देखेको रेडियो नेपाल गएर गीत रेकर्ड गराउने सपना विक्रम सम्वत् २०२७ सालमा पूरा भयो । पहिलो पटक नै किरणले आफनै शब्द र संगीतमा मलाई त मेरो डम्फुको ताल मनपर्छ बोलको गीत रेकर्ड गराए । त्यसबापत उनले पारिश्रमिक स्वरुप ३५ रुपैया पाए । त्यो उनको जीवनकै पहिलो पारिश्रमिक थियो ।

गोपाल योञ्जनको बोलावट र उनको डायरी

यसरी गीत गाउदै जाने क्रममा उनको स्वरको माधुरी उडेर गोपाल योन्जनसम्म पुग्यो । एकदिन गोपाल योन्जन आफैंले उनलाई भेट्न बोलाए । किरण पनि गोपाल योन्जनलाई भेट्न साहै आतुर थिए । जब उनले गोपाल योन्जनलाई भेटे,सानो औपचारिक कुराकानी पश्चात उनलाई गीत गाउन आग्रह गरे गोपालले । त्यति महान् हस्तीको अगाडी गीत गाउदा डरले हातखुट्टा लगलग काम्यो उनको । तर पनि उनले जसोतसो गीत गाएर सुनाए । किरणको गीत सुनेपछि उनलाई एउटा गीत गाउन लगाउने निधो गरेर आफनो डायरी किरण सामु राख्दै गोपालले ल एउटा गीत छान भने । किरणले डायरी पल्टाउदै गए । उनले सुरुमा मायालु हजार हुन्छन् बोलको गीत छाने । तर उक्त गीत पहिले नै ध्रुब केसीले गाईसकेका रहेछन् । किरणले फेरी पान्ना पल्टाउदै गए । उनी एउटा पान्नामा पुगेर टक्क अडिए । गीतको सुरुको लाईनले नै उनको नजरलाई चुम्बकले झै तान्यो । यसो पढे,त्यो लाईन उनलाई खुबै मनपरयो तर मनमा शंका लाग्यो । यो गीत पनि कसैले गाईसकेको त छैन ? उनले झट्ट गोपाल योञ्जनलाई सोधिहाले । योञ्जनले त्यो गीत कसैले नगाको जबाफ दिएपछि उनले त्यही गीत गाउले निधो गरे । गोपाल योञ्जनको गीत गाउन कहाँ सजिलो थियो र ? करिब १ महिनाको निरन्तर अभ्यासपछि बल्ल उक्त गीत रेकर्ड भयो । त्यही गीत किरण प्रधानको टर्निङ्ख प्वाइन्ट बन्यो । त्यो गीत थियो भूल हो तेरो…..।

यसरी गोपाल योञ्जन क्याम्पमा प्रवेश पाएका किरणले त्यसपछि पनि थुप्रै गीत गोपाल योञ्जनकै गाए । शब्द र संगीतको सागरमा डुबेर गोपालले टिपेर ल्याएका ती मोतीहरुको चमकले किरणको सांगीतिक व्यक्तित्व अझ उज्वल बन्दै गयो ।

पाश्र्व गायन र स्क्रिन मोह

यसरी आधुनिक गीतहरुमा राम्रो पकड जमाउदै एकपछि अर्काे हिट गीत दिइरहेको अवस्थामा किरण प्रधानलाई अर्काे उचाईमा पुग्ने मौका जुरयो । हरेक गायक गायिकाको एउटै सपना हुन्छ पाश्र्व गायक गायिका बन्ने । त्यस्तै सपना किरण प्रधानसँग पनि थियो । उनको पाश्र्व गायक बन्ने सपना पुरा हुनुकोसाथै अर्काे उचाईमा पुरयाईदियो ।

भूल हो तेरो गीतपछि किरणले क्रमशः भन्ज्याङ्खको डीलमा बसी,पत्थरको मुटु बोकेर जस्ता एकपछि अर्काे कालजयी गीत गाउने अवसर पाए । तर उनको एउटा सपना भने अझै अधुरै थियो । त्यो सपना थियो चलचित्रको पाश्वर्य गायक बन्ने । कर्म गर्दै जानुपर्छ,फल आफैं फल्छ भने जस्तै निरन्तरको सांगीतिक कर्मपछि एकदिन किरण प्रधानको पाश्र्व गायक बन्ने सपना पनि पूरा भयो चलचित्र अर्को जन्मबाट । उक्त चलचित्रका लागि उनले टोलाउँदै हेर्छ विधाता बोलको गीत गाएका थिए । त्यसपछि उनले अरु थप चलचित्रहरुकालागि समेत पाश्र्व गायनको अवसर पाउँदै गए । त्यसबीचमा उनले चलचित्र मायाप्रीतिका लागि शीर्ष गीतसँगै अरु गीतहरु पनि गाए । गोपाल योञ्जनको संगीतमा रहेका ती गीतहरु खूबै मन पराइए । त्यसपछि चलचित्र सम्झनाकालागि पनि उनले एउटा गीत गाए । त्यो गीत थियो के सोचे मैले के भयो अहिले Þ । यो गीतको नारी संस्करणमा चर्चित भारतीय गायिका आशा भोसलेको स्वर थियो । तर किरणले गाएको यो गीत पनि आÞशा भोस्लेको जत्तिकै चर्चित भयो । जसलाई उनी आफ्नो करियरकै ठूलो सफलता ठान्दछन् ।

यसरी पाश्र्व गायनमा समेत जम्दै गएका उनले थुपै्र चलचित्रकालागि उत्कृष्ट गीत गाए । त्यसबीचमा उनको चलचित्रकर्मीहरुसँग बढी हिमचिम हुन थाल्यो । त्यसले चलचित्रमा उनको रस पस्दै गयो । फलस्वरुप उनले आफ्नै निर्देशनमा प्रयास नाम भिडियो चलचित्र बनाए । उनले निर्माण गरेको प्रयास नेपालको पहिलो भिडियो चलचित्र थियो । त्यसपछि भिडियो चलचित्रको लहर यस्तरी आयो कि त्यसले सेल्युलाइड चलचित्रलाई समेत छायाँमा पर्ने अवस्था थियो । यो पचासको दशकको शुरुवाती वर्षहरुसम्मै कायमै थियो । प्रयासपछि किरण ठूलो पर्दाकै चलचित्र निर्देशन गर्न कस्सिए । र, उनले आफ्नै निर्माण र निर्देशनमा कस्तुरी नामक चलचित्र बनाए । जुन युरोपको लण्डनमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र थियो ।

गायनमा मज्जाले जमेका किरण चलचित्रमा भने उत्ति जम्न सकेनन् । त्यसैले उनले दोहोर्याएर चलचित्र बनाउने प्रयास गरेनन् । तर आफूलाई वहुआयामिक प्रतिभाका रुपमा चिनाउन भने उनी सफल भए ।

किरणलाई छेकिदिने ४७ को त्यो कालो दिन

नेपाली कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका किरण प्रधानको जिन्दगीमा २०४७ साल दुखद सालका रुपमा रह्यो । त्यही साल उनको बुबाको निधन भयो । बुबा जगतनारायणको निधन पश्चात घरपरिवारको सम्पूर्ण जिम्मेवारी जेठो छोरा किरणको काँधमा आइपर्यो । त्यसपछि घरव्यवहार सम्हाल्दै जाने क्रममा उनको कलायात्रा छुट्दै गयो । कालान्तरमा उनको कलाकारिता क्षेत्रमा लगभग पूर्णबिराम नै लाग्यो ।

कलाकारिता क्षेत्रमा राम्रो पकड जमाई रहेको अवस्थामा बिक्रम सम्बत २०४७ सालमा किरणका बुबा नराम्रोसंग थला परे । १६ दिनको अस्पताल उपचारपछि वुवा जगतनारायणको निधन भयो । बुबाको निधनपश्चात घरपरिवारको सम्पूर्ण जिम्मेवारी घरको जेठो छोरो उनकै काँधमा आइपर्यो । अझ त्यसमाथि पनि बुबाको स्कुल सम्हाल्ने ठुलो जिम्मेवारी पनि उनैले लिनुपरयो । त्यसपछि उनले कलाकारिता क्षेत्रमा फर्केर हेर्न पनि भ्याएनन् । बिक्रम सम्बत २०३३ सालमा उनको बुबाले काठमाडौंको बालाजुमा स्थापना गरेको होली गार्डेन बोर्डिङ हाई स्कुलमा बुबाको निधनपश्चात २०४७ सालदेखि प्रिन्सिपलको पद सम्हाल्न थालेका उनी आजसम्म पनि त्यही कार्यरतछन् ।

स्कूलको व्यवस्थापन सम्हाल्दा सम्हाल्दै तीन दशक वितिसकेको उनले पत्तै पाएन । परिबन्धले गीत संगीतबाट टाढा बनाए पनि उनको मनमा भने सधैं गीत संगीतले नै डेरा जमाइरहन्थ्यो । भोलि गरौंला,अलि पछि गरौंला भन्दा भन्दै गायन क्षेत्रमा उनी आफैं पछि पर्दै गए । यसरी पछि पर्नुको तुष मनमा कता कता रहनु स्वभाविक नै हो । तर परिबन्दको चाङ आँखै सामुन्ने भएकोले ग्लानीबोध भने कत्ति पनि छैन उनमा ।

गायनक्षेत्रमा जसरी किरण प्रधानका रुपमा उनी दर्शक श्रोताको रोजाइका गायक थिए अहिले स्कुलमा पनि विद्यार्थी र सहकर्मी शिक्षकहरुका आदरणीय किरण सरका रुपमा परिचित छन् । यसैमा उनी सन्तोक मान्दछन् । अर्को कुरा उनलाई बच्चाहरुसँग बसेर रमाईलो गर्न खुबै मनपर्छ । त्यसैले त शिक्षण क्षेत्रमा तीन दशक कसरी र कतिखेर वित्यो,सम्झदा उनी आफैं दंग पर्छन् ।

डिएसपीका छोरीलाई फिल्मी शैलीमा भगाउँदा….

गायनक्षेत्रमा राम्रो ख्याती प्राप्त गर्दै चलचित्रमा समेत परिचय बनाई सकेका किरण प्रधानको जीवनमा चलचित्रको कथा जस्तै लाग्ने अनेक क्षणहरु आए । त्यसैमा पर्छ उनको विवाहको प्रसँग । शुरुमा सुन्दा सबैलाई कुनै रोमान्टिक चलचित्रको काल्पनिक प्लट जस्तै लाग्छ । रोल
गायनक्षेत्रमा लागेर किरण प्रधानले नाम,दाम र काम त पाए,जीवनसंगीनी समेत उनले गायन यात्रामा हिड्ने क्रममै भेटे । एकदिन किरण आफ्नो साथीसँग कतै जाँदै थिए । बाटोमा जादै गर्दा उनको नजर बाटोमा हिडिरहेकी एउटी सुन्दर युवतीमा गएर अडिए । उनी सँगै गएका साथीले झक्झकाएपछि बल्ल झसङ्ख भए उनी । संयोगले ती युवती उनकै साथीका चिनजानका परेछन् । पछि तिनै साथी मार्फत किरण ती युवतीसँग नजिकिदै गए । उनलाई धेरैपछि मात्र थाहा भयो ती युवतीको नाम दिव्यलक्ष्मी श्रेष्ठ रहेछ ।

उता दिव्यलक्ष्मीलाई भने पहिलो भेटले खासै असर परेन । किनभने त्यतिखेर उनको मनमा किरणप्रति त्यस्तो कुनै फिलिङ्स थिएन । पछि साथी साथी मार्फत दोश्रो भेटघाट भएपछि बल्ल उनले किरण प्रधान गायक भन्ने थाहा पाए । त्यसपछि किरणप्रति अलि आकर्षित भएकी उनी थाहै नपाई प्रीति बसेको बताउछिन् ।

किरण अनि दिब्यलक्ष्मीबिच बिस्तारै भेटघाट बढ्न थाल्यो । त्यतिखेर उनी किरणलाई दाइ भनेर सम्बोधन गर्थिन् । हरेक भेटघाटमा दिव्यलक्ष्मीले दाइ एउटा गीत सुनाउनुस् न भन्थिन् । उनको फर्माइसमा किरण घन्टौंसम्म गाउँथें, सुनेर बस्थिन् दिव्यलक्ष्मी ।

हुन त एउटै समुदायका उनीहरुको मागी बिबाह गरेपनि सहजै हुनुपर्ने हो । तर प्रधान दम्पतिलाई त्यति सजिलो भएन आफ्नो प्रेमलाई पूर्णत दिन । दार्जिलिङ्गे केटालाई सजिलै छोरी दिन मानेनन् दिब्यलक्ष्मीका बुबा आमाले । काठमाण्डौ बाहिरको केटोले बिबाह गरेर छोरीलाई लगेर कतै अलपत्र पारिदिने हुन् कि भन्ने आशंका थियो दिव्य लक्ष्मीका आमा वुवाको मनमा । कतै छोरीलाई लगेर बेचिदिने पो हुन् कि भन्ने सोचेर उनीहरुले छोरी दिन पटक्कै मानेनन् । आमा बुबाले छोरी दिन नमानेपछि यी प्रेमजोडीले भागेर जाने निधो गरे । तर दिब्यलक्ष्मीलाई भगाउनु चानचुने कुरा थिएन । एक त उनी काठमाण्डौकी नेवार चेली छिसिक्क केही भयो कि हल्ला फैलिहाल्थ्यो । त्यसमाथि झन् दिब्यलक्ष्मीका बुबा त्यतिबेलाका नेपाल प्रहरीका डिएसपी ।

तर जुन परिवारमा प्रेममा तगारो हाल्ने आमा बुबा थिए, त्यही परिवारमा सहयोग गर्ने बहिनीहरु पनि थिए । किरण र दिब्यलक्ष्मीकी बहिनीहरु क्लासमेट थिए । चिठीपत्रको त्यो जमानामा उनीहरुको प्रेमपत्र ओसारपसार गर्ने हुलाकी ती बहिनीहरु नै थिइन् । उनीहरुकै सहायतामा अन्ततः बिक्रम सम्बत २०३२ सालको फागुनमा किरण र दिव्यलक्ष्मीले भागीबिबाह गरे ।

त्यसरी फिल्मी शैलीमा विवाह गरेका यी जोडीले विवाहको ४२ औ वसन्त पार गरिसकेका छन् । अहिले प्रधान दम्पतिका ३ सन्तान् छन् २ छोरी र एक छोरा । दुवै छोरी डाक्टर छन् । जेठी छोरी डा जोत्सना प्रधान र कान्छी छोरी डा ज्यास्मिन प्रधान । उनीहरु हाल अष्टेलियामा छन् । छोरा कुलदीप प्रधान भने युकेको एक युनिभसिर्टीमा पढाउछन् । तीनै जना छोराछोरीको घरजम हुनुको साथै अहिले किरण हजुरबुबा समेत भैसकेकाछन् ।

अहिले फर्केर हेर्दा किरण आफ्नो जिन्दगी सफलकै श्रेणीमा देख्छन् । यसमा श्रीमती दिव्यलक्ष्मीको ठुलो हात रहेको उनी स्वीकार्छन् । हरेक पलमा श्रीमानलाई होस्टेमा हैंसे गर्दै उनले असल श्रीमती हुनुको दायित्य पुरा गरिरहिन् । किरण प्रिन्सिपल हुदा उनी भाईस प्रिन्सिपल रहेर घर र बालबच्चासंगै अफिसको काममा समेत साझेदारी गरिन् । श्रीमान,बालबच्चा र अफिसको कामबाट पहिलै झन्झट मानिनन् उनले । त्यसैले त प्रधान दम्पति समाजकै लागि उदाहरणीय जोडी बनेका छन् ।

फेरि किरण झुल्किने आशा

किरण प्रधान जति प्रतिभावान थिए,त्यसलाई उनको जागीरे जीवनले थिचिराखेकोमा उनका शुभचिन्तकहरुको सदैव गुनासो रहँदै आएको छ । जति नै व्यस्त भए पनि,जति नै जिम्मेवारी आइपरे पनि आफूभित्रको गायन प्रतिभालाई मर्न दिन नहुने उनीहरुको किरणलाई सुझाव छ । समय निकै घर्कीसकेको छ तर ढिला नै भैसकेको भने होइन । त्यसैले अब समय मिलाएर फेरि गीत संगीतमा सक्रिय बन्न शुभ चिन्तक र साथीहरुले किरणलाई दबाब दिइरहेका छन् । बहुमुखी प्रतिभाका धनी किरण प्रधान गायन, अभिनय,चलचित्र निर्देशनसँगै हस्तकलामा समेत उत्तिकै पोख्त छन् । यति धेरै प्रतिभाका धनी प्रधान विगत ३ दशकदेखि स्कूलको व्यवस्थापनमै व्यस्त रहे । यसले उनीभित्रको प्रतिभा खुम्चिन थालेकोमा उनका शुभ चिन्तकहरुको गुनासो छ । त्यसैले उनका शुभ चिन्तक,आफन्त र साथीभाइ उनलाई पुनः गायन क्षेत्रकालागि पनि केही समय छुट्याउन सुझाव दिन्छन् ।

प्रधानकै निर्देशनमा बनेको चलचित्र कस्तुरीमा पहिलोपटक क्यामरा सम्हालेका बरिष्ठ छायाँकार गौरीशंकर धँजु किरणका बाल्यकालदेखिका साथी समेत हुन् । गौरीशंकर किरणका बुबाका बिद्यार्थी थिए । त्यसैले गौरीशंकर किरणसंगै उनका परिवारसंग समेत नजिकछन् । आफूलाई चलचित्र क्षेत्रमा डोर्याउन ८० प्रतिशत हात किरणकै रहेको गौरीशंकर बताउछन् ।

त्यस्तै अर्का अभिनेता रविन्द्र खड्का पनि किरणका सहकर्मी हुन् । रविन्द्रको पहिलो चलचित्र मायाप्रीतिका पाश्र्व गायक किरण थिए । त्यस यता दाजुभाइको जस्तै सम्बन्ध विस्तार भएको बताउने रबिन्द्रको नजरमा किरण मिलनसार साथी हुन् । साथै किरणलाई उनी बहुमुखी प्रतिभाका धनी ठान्दछन् । यस्तो बहुप्रतिभाशाली ब्यक्ति व्यवसायिक व्यस्तताको कारण जनाउँदै नेपथ्यमा खुम्चिरहेकोमा उनलाई पटक्कै चित्त बुझेको छैन । कमसे कम बर्षमा १,२ वटा भएपनि नयाँ गीत गाउन अनुरोध छ उनको किरण प्रधानलाई ।

त्यसो त शिक्षण पेशामा लागिसकेपछि किरणले गीत संगीत क्षेत्रलाई चटक्कै माया मारेका भने होइनन् । उनले बीचबीचमा ३ पटक एकल साँझमा उपस्थित भएर दर्शक र श्रोताहरुलाई आफ्नो गायकीले रिझाएर सम्बन्धको नवीकरण गर्ने कार्य भने नगरेका होइनन् । तर अझ यो भन्दा बढी सक्रिय भएर गीत संगीत क्षेत्रमा फर्केर आउन उनका श्रोता,दर्शक र शुभचिन्तकहरुले गरेको आग्रह र अपेक्षाले कुनै दिन किरणको मन पग्लेला कि ?

Comments

comments