काठमाडौं  । ‘ओ हो, त्यो बेलाको कुरै नगर्नुहोस्। जनताकै घरमा बस्ने, जनताले जे खाए, त्यही खाने, रातभरि जनताका कुरा सुन्ने। जनताकै बीचमा रहँदा न खर्चको चिन्ता, न अरू कुनै समस्या’, ०४८ तिरको चुनावी प्रचार प्रसारलाई सम्झँदै पुराना वामपन्थी नेता चित्रबहादुर केसी भन्छन्, ‘अहिले त अचम्मै लाग्छ। होटलको बास, मासु, दारुको छेलोखेलो।’

बदलिँदो जीवनशैलीसँगै नेताहरूको चुनाव प्रचार शैली, बानी व्यहोरा, खर्चको सीमा पनि बदलिँदै गएको छ। जनताकै घरमा बस्ने, जनताले नै बनाएको मीठोमसिनो खाएर चुनाव प्रचार गर्ने शैली होटलको बासले महँगिदै गएको छ। एकातिर नेताहरूसँग हुने ‘झुण्ड’, अर्कोतिर विलासी शैलीले जनताको घरभन्दा होटलको खाना र बास प्यारो लाग्न थालेको छ। ‘कार्यकर्ताको प्रवृत्ति नै बिग्रिसक्यो,’ केसी भन्छन्, ‘अब त धनी मान्छेले मात्र चुनाव लड्ने दिन आउन लागे।’

शीर्ष नेताहरू भने व्यावहारिक र सुरक्षा दृष्टिले जनताको घरमा बास बस्न अप्ठ्यारो हुने गरेको तर्क गर्छन्। ‘प्रधानमन्त्रीज्यूसँग सुरक्षाकर्मी र सचिवालयका गरी १५ जनाको टिम हुन्छ’, प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका एक सदस्य भन्छन्, ‘कार्यकर्ताको ताँती, सुरक्षाकर्मीको व्यवस्थापनलगायतका कारण पनि जनताको घरमा बास बस्न कठिन हुन्छ।’

जनताको घरमा बास बस्दा खर्चका दृष्टिले सहज भए पनि विपक्षीले पैसाको खोलो बगाउँदा चुनाव महँगो बन्दै गएको बताउँछन्’, एमाले नेता अमृतकुमार बोहरा। ‘त्यो बेला त हाम्रो खर्च भनेको ब्यानर, पोस्टर र भित्तेलेखनको रंगमा मात्र हो’, बोहरा भन्छन्, ‘जनताको घरमा जे छ, त्यही खान दिन्थे। जनताकै घरमा बस्ने, उठ्ने गरिन्थ्यो।’

पैसाको बल र गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति चुनावी मैदानमा आउँदा सोझा साझा उम्मेदवारलाई सादा प्रचार शैली अपनाउन गाह्रो भएको बोहराको भनाइ छ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Comments

comments