मेलबर्न । सिड्नी मोर्निंग हेरल्डले रोमानियाकी एक महिलाको भिसा सम्बन्धि कथा छापेको छ।

त्यहाँ उल्लेख भएअनुसार, रोमानियाकी क्रिस्टिया सन् २०११ मा ४५७ भिसामा श्रीमानका साथमा अष्ट्रेलिया आएकी थिईन् । २०१५ मा उनको सम्बन्ध विच्छेद भयो। त्यसपछि उनलाई भिसाको चिन्ताले सतायो। तर केही समयपछि उनले दोस्रो विवाह गरिन्, जसको कारण भिसाको समस्या टर्यो। विवाहपछि उनी दोस्रो श्रीमानसंग बस्न थालिन् र अहिले पी.आर को लागि प्रयास गरिरहेकी छिन् ।

गत जुनमा क्रिस्टियाले रोमानियामा रहेका आफ्ना बाबु क्यान्सरबाट सिकिस्त भएको थाहा पाइन्। परिवारका अनुसार, उनका बाबुसंग अब समय अत्यन्तै कम छ र बाबुलाई भेट्न चाहेमा उनी तुरुन्त आफ्नो देश जानुपर्छ। तर, उनको भिसाले भने उनलाई अहिले आफ्नो देश फर्किने अनुमति दिदैन। उनी ब्रिजिंग भिसामा मेलबर्नमा बसिरहेकी छिन् र यदि उनी अहिले आफ्नो देश गएमा भिसा रद्द हुन्छ। फेरी भिसा अप्लाई गर्नको लागि उनले तीन वर्ष पर्खनुपर्ने हुन्छ र पैसा पनि धेरै खर्च हुन्छ। उनले पत्रिका संग भनेकी छिन् , ” या त मैले भिसा त्यागेर जानुपर्ने, या त बुवाको मुख हेर्न नपाएको पछुतो सहित जिन्दगी काट्नुपर्यो। म अत्यन्तै चेपुवामा परेकी छु।”

अष्ट्रेलियामा ब्रिजिंग भिसामा हाल ३०,१११ जना वसोवास गरिरहेका छन्। ब्रिजिंग भिसामा सबैलाई छुट्टाछुट्टै शर्त हुन्छ । ती शर्त भिसावाहक आफूलाई नै चुन्न दिइएको हुन्छ ।

Comments

comments