एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराएको हो । एन्टोनियो कोन्टेको टिम चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस एलोन्सोले एक एक गोल गरे । १७ औं मिनेटमा मोराटाले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । २३ औं मिनेटमा हजार्ड तथा ३८ औं मिनेटमा एलोन्सोले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

६२ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ४–० को जित निश्चित गरेको हो । जितपछि टोटनह्यामलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको चेल्सीको १२ खेलबाट २५ अंक भएको छ । चेल्सी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि छ भने चौथो स्थानमा झरेको टोटनह्याम भन्दा दुई अंकले अघि रहेको छ । हारले १७ औं स्थानमा झरेको वेष्ट ब्रोमका प्रशिक्षक टोनी पुलिसमाथि भने दबाब बढाएको छ ।

राति नै भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हरायो । घरेलु टोली लिभरपुलको जितमा मोहम्मद सालहले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे । जितपछि पाँचौं स्थानको लिभरपुलको १२ खेलबाट २२ अंक भएको छ ।

Comments

comments