-दीपेन्द्र दोङ तामाङ

यही मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण सिंगो देश नै निर्वाचनमय भएको छ । निर्वाचनकालागि विभिन्न दलका उम्मेदवारहरु मतदाताको घर दैलोमा पुगिरहेका छन् भने सबै दलले आ आफ्नै एजेण्डासहितको नीति र कार्यक्रम घोषणा गरेका छन् । केही दलबाट चल्तीका कलाकारहरु समेत उम्मेदवार बनेका छन् । यसरी कलाकारहरु नै कुनै एउटा पार्टीमा आवद्द भएर प्रत्यक्ष राजनीतिमा लाग्नु ठीक हो र होइन भन्नेबारे मिश्रित प्रतिक्रिया पाइन्छ ।

कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायिका करिश्मा मानन्धरको अभिनय र सौन्दर्यको खूब चर्चा हुन्थ्यो । त्यसो त उमेरले झण्डै पाँच दशक छुन लाग्दा पनि उनको सौन्दर्यको अझै चर्चा हुने गरेको छ । तर केही वर्ष यता उनी चलचित्र भन्दा पनि राजनीतिका कारण बढी चर्चामा छन् । यसपटकको निर्वाचनमा उनी नयाँ शक्ति पार्टीका तर्फबाट समानुपातिक तर्फका उम्मेदवार छन् । पार्टीको उम्मेदवारको सूचीको पहिलो नम्बरमै रहेकी उनको संसद बन्न पाउने सम्भावना समेत बलियो देखिएको छ ।

राजनीतिका कारण चर्चामा आएका कलाकार करिश्मा मात्र होइनन् । रेखा थापा,कोमल वली,मीरा राणा,उद्दव पौडेल,रविन्द्र खड्का,सञ्जय श्रेष्ठ लगायतका थुप्रै कलाकारहरु प्रत्यक्ष राजनीतिमा सक्रिय देखिएका कलाकारहरु हुन् । यसपटक टिकट पाउने सम्भावना बलियो रहेको भनिए पनि कोमल वलीले अन्ततः टिकट पाएनन् । तर पनि उनी आफ्नो पार्टी एमालेकालागि भोट माग्ने अभियानमा सक्रिय भएर लागेकी छिन् । यस्तै काठमाडौंमा काँग्रेस नेता गगन थापाको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भनेर चर्चामा आएकी रेखा थापाको उम्मेदवार बन्ने सपना यसपटक पनि अधुरै रह्यो । तर पनि उनी आफ्नो पार्टी राप्रपा राष्ट्रवादीका अध्यक्ष पशुपतिशम्शेर राणा लगायतका नेताहरुलाई भोट माग्ने अभियानमा व्यस्त छिन् ।

लाइम लाइटमै रहेका कलाकारहरुले यसरी प्रत्यक्ष राजनीतिमा लाग्न हुन्छ या हुँदैन भन्ने विषयमा फरक फरक मत पाइन्छ ।

कलाकारहरु पनि यही देशका नागरिक हुन् । उनीहरुले देश काल र परिस्थिति बुझेर आफ्नो कलाको मध्यमबाट देशमा सकरात्मक परिवर्तन ल्याउन सधैं अप्रत्यक्ष भूमिका निर्वाह गरिरहेका हुन्छन् । त्यसैले कोही सक्षम छन् भने कलाकारले पनि प्रत्यक्ष राजनीति गर्दा केही फरक नपर्ने कलाकार जयनन्द लामाको भनाइ छ ।

तर पत्रकार शालीकराम भण्डारीको भने यसमा फरक मत रहेको छ । पत्रकार र कलाकार राष्ट्रका गहना समेत हुन् । त्यसैले उनीहरुले कुनै एउटा पर्टीको बिल्ला भिर्न नहुने उनको तर्क छ ।

चलचित्र पत्रकार दिपेश गौतमको बुझाइमा पनि कलाकारको धर्म आफ्नो कलाकारिता प्रस्तुत गर्नु हो । त्यसैले उनीहरुले राजनीति गर्न नहुने उनी बताउँछन् ।

वरिष्ठ अभिनेता सुनिल थापाको बुझाइमा कलाकारहरुले राजनीति गर्दा आफ्नो प्रसंसकहरु गुमाउने खतरा प्रवल रहन्छ । जुन स्वभाविक पनि हो । त्यसैले राजनीतिमै समर्पित भएर लाग्ने हो भने त्यस्ता कलाकारहरुले कलाकारिताबाट सन्यास लिएर जानु उत्तम हुने थापाको सुझाव छ ।
गायक यम बराल भने कलाकारले राजनीति नै गर्नु हुन्न भन्ने कुरामा सहमत छैनन् । बरु विभिन्न पार्टीमा प्रवेश गरेका कलाकारहरुले उचित स्थान भने नपाएको उनको गुनासो छ ।

सञ्जय चौधरीको सहयोगमा

Comments

comments