काठमाडौं । मिस वर्ल्ड ६७ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल निकिता चण्डक पिपुल्स च्वाइस अवार्डको उत्कृष्ट १० मा पर्न सफल भएकी छिन् । जनताको मतको आधारमा यसको निर्णय गरिन्छ । मिस वर्ल्डमा नेपाल सुन्दरीले पाएको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

मिस वर्ल्डको ग्राण्ड फिनाले आज शनिबार हुँदै छ । चाइनाको सान्या सिटिमा आयोजना हुने उक्त समारोहमा विश्वभरका ११८ सुन्दरीहरुले सहभागिता जनाउने छन् । जसमध्ये नेपाल सुन्दरी २०१७ निकिता चाण्डकले पनि सहभागीता जनाएकी छिन् ।

मोरङ उर्लाबारीकी चाण्डकले ‘हेड टु हेड च्यालेन्ज’ मार्फत टप ४० मा प्रवेश गरिसकेकी छिन् । २० वर्षीया चाण्डक मिस नेपाल घोषित हुँदा विवादमा परेपनि हाल उनले मिस वर्ल्डमा दिएका प्रस्तुतीबाट धेरैको मन जितिसकेकी छिन् । सामाजिक सञ्जाल इन्टाग्राममा चाण्डकले आफूमा धेरैको विश्वास र आशा भएको र विश्वको मञ्चमा आज नेपालले इतिहास कोर्ने उल्लेख गरेकी छिन् । सबैको मायाप्रति आफू आभारी भएको भन्दै उनले आफ्नो तर्फबाट शत प्रतिशत दिने वाचा गरेकी छिन् ।

मिस वर्ल्डको फाइनल आज शनिबार नेपाली समय साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । मिस वर्ल्डको आधिकारिक वेबसाइट, युटुब र फेसबुकमा कार्यक्रम प्रत्यक्ष प्रशारण हुनेछ । प्युर्टो रिकोकी मिस वर्ल्ड २०१६ स्टेफानी डेल भालीले तीन घण्टाको कार्यक्रमको अन्त्यमा मिस वर्ल्ड विजेता २०१७ लाई ताज पहिराइदिने छिन् ।

 

Comments

comments