मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अष्ट्रेलिया भित्रिएका विदेशी विद्यार्थीहरुको तथ्यांक सार्वजनिक गरेको छ। उक्त तथ्यांक अनुसार, यो वर्ष अहिले सम्मकै बढी विद्यार्थी भित्रिएका छन् ।

यो वर्ष अष्ट्रेलिया आएर विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विदेशी विद्यार्थीको संख्या ७ लाख ८ हजार पुगेको छ। यो संख्या अघिल्लो वर्ष भन्दा १३ प्रतिशतले बढी हो ।

तथ्यांक अनुसार, अष्ट्रेलियामा पढ्न आउने अधिकांश विद्यार्थीहरु एसियाली मुलुकका छन् । जसमध्ये पनि, चीनबाट सबैभन्दा बढी आउने गरेका छन् । चीनबाट विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि आउने गरेको बताइन्छ । त्यसपछि अष्ट्रेलिया आउने विद्यार्थीहरुमा भारत र तेस्रोमा नेपालबाट छन्।

अष्ट्रेलियाको गुणस्तरीय शिक्षा, करियर अवसर संगै, अमेरिकाले आप्रवासीहरुको लागि ल्याइरहेको कडा नितीका कारण अष्ट्रेलियामा अघिल्लो वर्ष भन्दा ठूलो प्रतिशतले विदेशी विद्यार्थीहरु बढेको बुझिएको छ।

यो वर्ष अष्ट्रेलिया आएका विदेशी विद्यार्थीहरुको संख्याका आधारमा नेपाल पछि, भियतनाम, मलेसिया, पाकिस्तान, इन्डोनेसिया, हंगकंग आदि देश रहेका छन् ।

अष्ट्रेलियाको अर्थतन्त्रमा समेत विदेशी विद्यार्थीहरुले ठूलो प्रभाव पारिरहेका छन् । यहाँको अर्थतन्त्रमा, गत वर्ष विदेशी विद्यार्थीहरुको २८ अर्ब डलर रहेको थियो भने, यस वर्ष विद्यार्थी संख्या बढेका कारण ३० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ ।

Comments